काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आजदेखि ‘काठमाडौँ जलवायु कार्य सप्ताह–२०८३’ सुरु गर्दैछ ।

जलवायु परिवर्तनको असर न्यूनीकरण तथा अनुकूलनका लागि स्थानीय तहमा ठोस काम अघि बढाउने उद्देश्यले महानगरपालिकाले साताव्यापी कार्यक्रम आयोजना गर्न लागेको हो ।

ADVERTISEMENT

महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलका अनुसार जलवायु परिवर्तनको असर दैनिक जीवनदेखि सहरको वातावरणसम्म देखिन थालेकाले अब छलफलमा मात्र सीमित नभई व्यवहारमै काम गर्नुपर्ने आवश्यकता छ ।

ADVERTISEMENT

‘हामीले गर्नुपर्ने कार्यलाई पछाडि धकेल्नु हुँदैन, गरौँला हेरौँला भन्ने फुर्सद हामीसँग छैन । त्यसैले हामीले काम नै गर्नुपर्छ भनेर कार्य सप्ताह भनेको हो,’ उनले भनिन् ।

कार्यवाहक प्रमुख डंगोलका अनुसार सप्ताहको पहिलो दिन विभिन्न स्थानीय तहका प्रमुख तथा उपप्रमुखसँग जलवायु परिवर्तनका असर र त्यसलाई न्यूनीकरण गर्न भइरहेका प्रयासबारे छलफल गरिनेछ । विशेषगरी भोटेकोशी बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिका अनुभव सुनिनेछन् । सोही दिन राष्ट्रिय सभागृहबाट ‘रिचार्ज काठमाडौँ अभियान’ पनि सुरु गरिनेछ ।

महानगरपालिकाले काठमाडौँभित्रका विद्यालयमा वर्षाको पानी जमिनमुनि पुनःभरण गर्न सकिने स्थानको अध्ययन गरिसकेको छ । सोही अध्ययनका आधारमा अभियान अघि बढाइने डंगोलले बताइन् ।

दोस्रो दिन जलवायु वित्तका विषयमा विज्ञहरूसँग छलफल हुनेछ । जलवायु अनुकूलन तथा उत्थानशील पूर्वाधार निर्माणका लागि अन्तर्राष्ट्रिय जलवायु कोष, हरित नगर ऋणपत्र, सरकारी वित्तीय स्रोत र निजी क्षेत्रको लगानी परिचालनबारे विचार विमर्श गरिनेछ ।

तेस्रो दिन नागरिक विज्ञान, सम्पदा र जलवायु परिवर्तनका असरबारे छलफल हुनेछ । परम्परागत हिटी प्रणालीको संरक्षण, ऐतिहासिक सम्पदा क्षेत्रको पदयात्रा, भूमिगत जल पुनःभरण तथा पानीको गुणस्तर परीक्षणसम्बन्धी प्रदर्शन पनि गरिनेछ ।

चौथो दिन ऊर्जा प्रणाली र जलवायु परिवर्तनमा केन्द्रित कार्यक्रम सञ्चालन हुनेछ । स्वच्छ ऊर्जा, विद्युतीय सवारी साधन, ऊर्जा भण्डारण प्रविधि र फोहरमैला व्यवस्थापनबारे समानान्तर सत्र आयोजना गरिनेछ । सोही दिन टेकुस्थित बायोग्यास प्लान्टको उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ ।

पाँचौँ दिनलाई ‘बालबालिका तथा युवा जलवायु कार्य दिवस’का रूपमा मनाइनेछ । त्यस दिन ५० भन्दा बढी विद्यालयमा एकैसाथ फोहर वर्गीकरण, विद्यालयको वातावरणीय अवस्था पहिचान, जलवायु खेल, वृक्षरोपण योजना र सचेतनामूलक गतिविधि सञ्चालन गरिने महानगरपालिकाले जनाएको छ ।

यसै अवसरमा कक्षा ६ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई लक्षित गरी ‘जलवायुका लागि बालबालिका’ भिडियो प्रतियोगिता आयोजना गरिनेछ । प्रतियोगितामा प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र तेस्रो हुनेले २० हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सात जनालाई सान्त्वना पुरस्कारस्वरूप जनही १० हजार रुपैयाँ प्रदान गरिनेछ ।

प्रतियोगिताबाट छनोट भएका १० जनालाई ‘काठमाडौँ महानगरपालिकाका लागि जलवायु परिवर्तन सद्भावना दूत’को उपाधि दिइनेछ । उनीहरूलाई वर्षभरि जलवायु संरक्षणसम्बन्धी गतिविधिमा सक्रिय बनाउने महानगरपालिकाको तयारी छ ।

छैटौँ दिन खाद्य प्रणाली र जलवायु परिवर्तन तथा सातौँ दिन जलवायु परिवर्तनका असर न्यूनीकरणमा नागरिक समाज, गैरसरकारी संस्था र अन्तरसरकारी संस्थाको भूमिकाबारे कार्यक्रम सञ्चालन गरिनेछ ।

महानगरपालिकाले साताव्यापी कार्यक्रममार्फत जलवायु परिवर्तनका असरबारे जनचेतना अभिवृद्धि गर्नुका साथै स्थानीयस्तरमा अनुकूलन र वातावरण संरक्षणका व्यावहारिक काम अघि बढाउने लक्ष्य राखेको छ ।