काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले यही मंसिर ६ र ७ गते भारतको राजकीय भ्रमण गर्ने भएका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा प्रधानमन्त्री शाह भारत भ्रमणमा जान लागेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार प्रधानमन्त्री शाह मंसिर ६ गते नेपाल वायुसेवा निगमको विमानमार्फत नयाँदिल्ली प्रस्थान गर्नेछन्। भ्रमण टोलीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार व्यञ्जनकारसहित नेपाल सरकारका वरिष्ठ अधिकारीहरू सहभागी हुनेछन्।

ADVERTISEMENT

भ्रमणका क्रममा प्रधानमन्त्री शाहले भारतकी राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्नेछन्। साथै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री मोदीले प्रधानमन्त्री शाहको सम्मानमा दिवाभोजको आयोजना गर्नेछन्।

ADVERTISEMENT

त्यसैगरी, भारतका विदेशमन्त्री एस. जयशंकरले पनि प्रधानमन्त्री शाहसँग शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

नेपाल र भारतबीच लामो समयदेखि सभ्यतागत सम्बन्ध, सांस्कृतिक समानता र जनस्तरको गहिरो सम्बन्ध कायम रहँदै आएको छ। यस भ्रमणले दुई देशबीचको विविध क्षेत्रको सहकार्यको समीक्षा गर्दै आपसी हित र दुवै देशका नागरिकको लाभका लागि साझेदारीलाई थप विस्तार गर्ने अवसर प्रदान गर्ने मन्त्रालयको विश्वास छ।

प्रधानमन्त्री शाह मंसिर ७ गते स्वदेश फर्कने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।