काठमाडौं । पोर्चुगलकी विदेश राज्यमन्त्री (विदेश मामिला तथा सहयोग सचिव) डा. आना इसाबेल जाभियर तीन दिने औपचारिक भ्रमणका लागि भोलि (अप्रिल २९) नेपाल आउने भएकी छन्। परराष्ट्र सचिव अमृत बहादुर राईको निमन्त्रणामा हुन लागेको उक्त भ्रमण मे १ सम्म चल्नेछ।

परराष्ट्र मन्त्रालयका अनुसार भ्रमणका क्रममा नेपाल र पोर्चुगलबीचको द्विपक्षीय सम्बन्ध, आपसी हितका विषय तथा सहयोगका सम्भावित नयाँ क्षेत्रबारे उच्चस्तरीय छलफल हुने कार्यक्रम रहेको छ।

ADVERTISEMENT

मुख्य कार्यक्रमअनुसार वैशाख १७ गते डा. जाभियरले परराष्ट्र सचिव राईसँग द्विपक्षीय वार्ता गर्नेछिन्। सोही दिन उनले परराष्ट्र मन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गर्ने कार्यक्रम पनि तय गरिएको छ। यी भेटघाटमा दुई देशबीचको विद्यमान सम्बन्धको समीक्षा गर्नुका साथै आर्थिक, कूटनीतिक तथा विकास सहकार्यका नयाँ आयामबारे छलफल हुने जनाइएको छ।

पोर्चुगलका गैर-आवासीय राजदूत जोआओ रिबेरो डे अल्मेडासहितको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल आउन लागेकी डा. जाभियरको भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

विशेषगरी पोर्चुगलमा बसोबास गर्ने नेपाली समुदायको हित, श्रम सहकार्य, वैदेशिक रोजगारी तथा आपसी लगानीका सम्भावनाबारे पनि यस अवसरमा कुराकानी हुन सक्ने मन्त्रालयले जनाएको छ।