काठमाडौं । डाविड मलानले संयमित ब्याटिङ गर्दै अविजित अर्धशतक बनाएपछि चितवन राइनोजले नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससामु १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको हो ।

ADVERTISEMENT

चितवनका लागि ओपनर कमिल मिशारा दोस्रो ओभरमै व्यक्तिगत ४ रनमा आउट भएपछि तेस्रो नम्बरमा ब्याटिङ गर्न आएका मलानले एक छेउ सम्हाल्दै अन्तिमसम्म ब्याटिङ गरे । उनले ५१ बलमा ९ चौका र २ छक्काको मद्दतमा अविजित ७१ रन बनाए ।

ADVERTISEMENT

मलानले सातौँ विकेटका लागि सलाउद्दिन खानसँग ३१ बलमा ४० रनको महत्त्वपूर्ण साझेदारी गरे । खानले १६ बलमा एक छक्कासहित १८ रन जोडे । त्यस्तै कमल सिंह ऐरीले ८ बलमा एक छक्काको मद्दतमा १० रन बनाए ।

चितवनका अन्य ब्याटरले भने दोहोरो अंकमा रन बनाउन सकेनन् । देव खनाल ६, रवि बोपारा र कुशल मल्ल समान १, विवेक यादव ३ तथा उसामा मिर २ रनमा आउट भए । रिजन ढकालले ४ रन बनाए । उनी अन्तिम बलमा रनआउट भए ।

बलिङतर्फ सुदूरपश्चिमका स्कट कुगुलेइनले सर्वाधिक ३ विकेट लिए । थरिन्दु रत्नायकेले २ विकेट हात पार्दा हेमन्त धामी, कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले समान १ विकेट लिए ।

अब सुदूरपश्चिमले फाइनल प्रवेशका लागि १३४ रन बनाउनुपर्नेछ ।