काठमाडौं । एनसेलले आफ्नो थ्रीजी सेवा पूर्ण रूपमा बन्द गर्ने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ । कम्पनीले बाँकी रहेका २ हजार १३७ थ्रीजी साइट आगामी एक महिनाभित्र चार चरणमा बन्द गर्ने योजना अघि बढाएको हो ।
एनसेलका कुल ३ हजार १२९ थ्रीजी साइटमध्ये हालसम्म ९९२ वटा बन्द भइसकेका छन् । यो कुल साइटको करिब ३२ प्रतिशत हो । बाँकी ६८ प्रतिशत साइट पनि निर्धारित तालिकाअनुसार बन्द गरिने कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार थ्रीजी सेवा बन्द गर्ने प्रक्रिया चार चरणमा कार्यान्वयन हुनेछ । पहिलो चरणमा मंसिर ७ गते लुम्बिनी र गण्डकी प्रदेशका साइट बन्द गरिनेछन् । दोस्रो चरणमा मंसिर १४ गते काठमाडौं, ललितपुर र भक्तपुरका थ्रीजी साइट निष्क्रिय पारिनेछन् ।
त्यस्तै, तेस्रो चरणमा मंसिर २१ गते मधेश र गण्डकी प्रदेशका बाँकी विभिन्न स्थान तथा चितवनमा सेवा बन्द हुनेछ । चौथो तथा अन्तिम चरणमा मंसिर २६ गते मधेश र कोशी प्रदेशका बाँकी साइट पनि बन्द गरिने कम्पनीले जनाएको छ ।
सन् २०१७ मा सुरु भएको एनसेलको थ्रीजी सेवा आगामी पुस २ गतेदेखि पूर्ण रूपमा बन्द हुनेछ । त्यसपछि कम्पनीले फोरजीमा आधारित भ्वाइस ओभर लङ टर्म इभोलुसन (भोल्टे) प्रविधिमार्फत भ्वाइस कल सेवा उपलब्ध गराउनेछ ।
भोल्टे प्रविधिबाट फोन कल छिटो कनेक्ट हुने, आवाज स्पष्ट सुनिने र फोनमा कुरा गर्दागर्दै फोरजी डेटा प्रयोग गर्न सकिने कम्पनीको भनाइ छ । यो सेवा प्रयोग गर्न ग्राहकसँग फोरजी सिम र भोल्टे सपोर्ट गर्ने मोबाइल हुनुपर्नेछ ।
एनसेलकी नेटवर्क हेड लेना केशरी कंसाकारले पुरानो प्रविधिको सट्टा नयाँ, छिटो र प्रभावकारी प्रविधि विस्तार गर्न तथा सञ्चालन र मर्मतसम्भार खर्च घटाउन थ्रीजी सेवा बन्द गर्न लागिएको बताइन् ।
उनका अनुसार थ्रीजी सेवा बन्द भएपछि कम्पनीले भोल्टेसहितको फोरजी नेटवर्क थप सुदृढ बनाउनुका साथै भविष्यमा फाइभजी प्रविधि सञ्चालनका लागि आवश्यक तयारी गर्न सक्नेछ ।
कम्पनीले थ्रीजी सेवा बन्द हुँदा ग्राहक आधारभूत दूरसञ्चार सेवाबाट वञ्चित नहुने जनाएको छ । फोरजीमा अपग्रेड नभएका ग्राहकले टुजी नेटवर्कमार्फत भ्वाइस कल र एसएमएस सेवा प्रयोग गर्न सक्नेछन् ।
थ्रीजी सेवाका लागि प्रयोग हुँदै आएको फ्रिक्वेन्सी फोरजी नेटवर्क विस्तारमा पुनः प्रयोग गरिने एनसेलले जनाएको छ । यसबाट फोरजी नेटवर्कको क्षमता वृद्धि, सेवा गुणस्तर सुधार र कनेक्टिभिटी विस्तारमा सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।
एनसेलका अनुसार कम्पनीको फोरजी सेवा नेपालको करिब ९५ प्रतिशत जनसंख्यामा पुगिसकेको छ । तर, हालका सक्रिय ग्राहकहरूमध्ये करिब ५ प्रतिशतले अझै फोरजी सिम प्रयोग गरेका छैनन् ।
थ्रीजी सेवा बन्द हुँदा ग्राहकलाई असुविधा नहोस् भनेर कम्पनीले थ्रीजी सिम प्रयोग गरिरहेका ग्राहकलाई निःशुल्क फोरजी सिम उपलब्ध गराउँदै आएको छ । ग्राहकले नजिकैको एनसेल सेन्टर वा बिक्री केन्द्रमा गएर सिम अपग्रेड गर्न सक्नेछन् । नयाँ फोरजी सिमसँगै सात दिन समयावधि भएको २ जीबी डेटा पनि निःशुल्क पाइने कम्पनीले जनाएको छ ।












