काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा एक महिलालाई गृहमन्त्री सुधन गुरुङकी आमा भन्दै भिडियो सामग्री पोस्ट तथा सेयर गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ ।
प्रहरीले बुधबार दाङका २८ वर्षीय सालिकराम न्यौपाने र दोलखाका ३७ वर्षीय नवरत्न तामाङलाई पक्राउ गरेको हो । यसअघि मंगलबार भक्तपुरको सूर्यविनायकबाट कलाकार छत्र बोगटी पक्राउ परेका थिए ।
४२ वर्षीय बोगटी मनोरञ्जन क्षेत्रमा सर्विन बोगटीका नामले परिचित छन् । उनी कालिकोटका स्थानीय हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार पक्राउ परेका तीनै जनाविरुद्ध ४९ वर्षीया महिलाले वैयक्तिक गोपनीयता हननसम्बन्धी कसुरमा जाहेरी दिएकी छन् ।
पक्राउ परेका न्यौपाने चलचित्र पत्रकार संघका केन्द्रीय सदस्य हुन् । उनी मंगलबारदेखि परिवारको सम्पर्कमा नआएको भन्दै उनकी पत्नी अस्मिता पाण्डेले बुधबार प्रहरी वृत्त सिंहदरबारमा निवेदन दिएकी थिइन् । प्रहरीले उनको खोजतलास गरिरहेको अवस्थामा उनी पक्राउ परेको खुलेको हो ।
न्यौपानेले पहिलोपटक आफूलाई ज्ञानु तामाङ बताउने महिलाको भिडियो ‘इन्टरटेनमेन्ट रिल्स’ नामक फेसबुक पेजबाट सार्वजनिक गरेको बताइएको छ । उक्त भिडियोमा महिलाले आफू गृहमन्त्री सुधन गुरुङकी आमा भएको दाबी गरेकी छन् । त्यसपछि भिडियो सामाजिक सञ्जालमा व्यापक रूपमा सेयर भएको थियो ।
भिडियोमा ‘सुधन गुरुङको आमाको अवस्था’ भन्दै सामग्री पोस्ट गरिएको थियो । पक्राउ परेका अन्य दुई जनाले पनि उक्त भिडियो सामाजिक सञ्जालमा सेयर गरेको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार जोरपाटी क्षेत्रमा बस्दै आएकी ज्ञानु तामाङ विभिन्न स्थानमा हिँड्ने र माता भन्दै काम गर्ने गरेको अनुसन्धानमा संलग्न अधिकारीहरूले बताएका छन् । तर, भिडियोमा देखिएकी महिला गृहमन्त्री गुरुङकी आमा भएको पुष्टि भएको छैन ।
एसपी थापाका अनुसार पीडित महिलाले अनुमति नलिई भिडियो खिचेर सार्वजनिक गर्दा आफ्नो वैयक्तिक गोपनीयता हनन भएको भन्दै जाहेरी दिएकी हुन् । पक्राउ परेका तीनै जनामाथि वैयक्तिक गोपनीयता सम्बन्धी ऐन, २०७५ अनुसार अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।












