काठमाडौं । नेपाल राष्ट्र बैंकले गत आर्थिक वर्षमा ७ खर्ब ६५ अर्ब ७४ करोड रुपैयाँ बराबरका बैंक नोट नष्ट गरेको छ । चलनचल्तीमा पठाउन अयोग्य झुत्रा, मैला र च्यातिएका नोट धुल्याएर ब्रिकेट बनाइएको केन्द्रीय बैंकले जनाएको छ ।

राष्ट्र बैंकका अनुसार २०८३ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्था र सर्वसाधारणले जम्मा गर्न वा सट्टाभर्ना लिन ल्याएका विभिन्न दरका अयोग्य नोट नष्ट गरिएको हो ।

ADVERTISEMENT

यसैबीच, चलनचल्तीमा रहेको नोटको परिमाण भने बढेको छ । २०८२ असार मसान्तसम्म विभिन्न दरका ७ खर्ब ६१ अर्ब ४१ करोड रुपैयाँ बराबरका नोट चलनचल्तीमा रहेकामा २०८३ असार मसान्तसम्म ६.०८ प्रतिशतले वृद्धि भई ८ खर्ब ७ अर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनाएको छ ।

ADVERTISEMENT

केन्द्रीय बैंकले बैंक नोटको सुरक्षण विशेषता तथा प्राविधिक स्पेसिफिकेसनलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार अद्यावधिक र परिमार्जन गर्दै नोटलाई थप सुरक्षित तथा गुणस्तरीय बनाउने काम भइरहेको जनाएको छ ।

बैंक नोटको डिजाइन, छपाइ तथा आपूर्तिका लागि ६ वटा अन्तर्राष्ट्रिय सेक्युरिटी प्रिन्टर्स कम्पनीलाई पूर्वयोग्यता सूचीमा समावेश गरिएको छ ।

गत आर्थिक वर्षमा ५ रुपैयाँ दरका ३५ करोड थान नोट करार सम्झौताअनुसार आपूर्ति भई राष्ट्र बैंकको ढुकुटीमा राखिएका छन् । त्यस्तै, १० रुपैयाँ दरका ३४ करोड थान नोट छपाइ तथा आपूर्तिका लागि सम्झौता भएकामा पहिलो र दोस्रो लट गरी २३ करोड थान नोट ढुकुटीमा सुरक्षित राखिएको छ ।

१०० रुपैयाँ दरका ३० करोड थान नोट छपाइ तथा आपूर्तिको सम्झौताअनुसार पहिलो र दोस्रो लटमा २१ करोड थान आपूर्ति भएका छन् । ५०० रुपैयाँ दरका २३ करोड थान नोट छपाइ तथा आपूर्तिका लागि भएको सम्झौताअनुसार पहिलो लटमा १२ करोड थान नोट आपूर्ति भएका छन् ।

यसैगरी, ५० रुपैयाँ दरका ४२ करोड थान र १ हजार रुपैयाँ दरका ४३ करोड थान नोट डिजाइन, छपाइ तथा आपूर्तिका लागि करार सम्झौता गरिएको राष्ट्र बैंकले जनाएको छ ।

२०८३ असार मसान्तसम्म केन्द्रीय बैंकसँग विभिन्न दरका ८८ अर्ब ९४ करोड ८ लाख ५० हजार रुपैयाँ बराबरका नयाँ नोट मौज्दात छन् । अघिल्लो वर्ष यस्तो मौज्दात ५१ अर्ब ५१ करोड ८२ लाख ४९ हजार रुपैयाँ थियो ।