काठमाडौं । नेपाल राष्ट्र बैंकका कर्मचारीहरूले ७१औं वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्दै विरोध प्रदर्शन गरेका छन् । कार्यसम्पादनमा आधारित बढुवा प्रक्रियामा ढिलाइ भएको भन्दै कर्मचारीहरूले सोमबार कार्यक्रम बहिष्कार गरेका हुन् ।

नेपाल राष्ट्र बैंक कर्मचारी संघ केन्द्रीय समितिको व्यानरमा गरिएको विरोधमा कर्मचारीहरूले व्यवस्थापनको गैरजिम्मेवार व्यवहारका कारण बढुवा रोकिएको आरोप लगाएका छन् । प्रदर्शनका क्रममा उनीहरूले ‘बढुवा होस् जालझेल नहोस्’, ‘कार्यसम्पादन बढुवा कहाँ र किन रोकियो?’, ‘व्यवस्थापनको मनपरी बन्द गर’ लगायतका नारासहित प्लेकार्ड प्रदर्शन गरेका थिए ।

ADVERTISEMENT

कर्मचारी संघकी निवर्तमान अध्यक्ष गीता पोखरेल लम्सालका अनुसार गएको असोजदेखि सुरु हुनुपर्ने आन्तरिक प्रतिस्पर्धा र कार्यसम्पादन मूल्यांकनमा आधारित बढुवा प्रक्रिया अझै अघि बढ्न सकेको छैन । उनले व्यवस्थापनले समयमै ध्यान नदिँदा बढुवा प्रक्रिया प्रभावित भएको बताइन् ।

‘हामीले वार्षिकोत्सवअघि नै समस्या समाधान गर्न ध्यानाकर्षण गराएका थियौं, तर बेवास्ता भएपछि कार्यक्रम बहिष्कार गरेर विरोध गर्नुपरेको हो,’ उनले भनिन् ।

ADVERTISEMENT

गभर्नर डा. विश्वनाथ पौडेल नियुक्तिपछि सुरुमा बढुवा प्रक्रियामा ढिलाइ भएको र त्यसपछि डेपुटी गभर्नर पद रिक्त हुँदा प्रक्रिया झन् प्रभावित भएको जनाइएको छ ।

यसैबीच, राष्ट्र बैंकले यस वर्षको वार्षिकोत्सव कार्यक्रममा निजी सञ्चारमाध्यमलाई प्रवेश नदिएको विषय पनि विवादित बनेको छ । स्रोतका अनुसार गभर्नरको निर्देशनमा सरकारी सञ्चारमाध्यमलाई मात्र निमन्त्रणा गरिएको थियो ।

सार्वजनिक निकायले महत्त्वपूर्ण कार्यक्रमबाट निजी सञ्चारमाध्यमलाई वञ्चित गर्नु लोकतान्त्रिक मूल्य र नागरिकको सूचनाको हक विपरीत भएको भन्दै आलोचना भइरहेको छ ।