बाँके । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणका क्रममा नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनका लागि पहल गर्न बाँकेका राजनीतिक दल, उद्योगी व्यवसायी तथा नागरिक समाजका अगुवाले माग गरेका छन् ।

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घको नेतृत्वमा मंगलबार विभिन्न राजनीतिक दल र नागरिक समाजका प्रतिनिधिले प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङलाई ज्ञापनपत्र बुझाउँदै प्रधानमन्त्रीको भारत भ्रमणलाई नेपालगञ्जको हवाई तथा व्यापारिक पूर्वाधार विकाससँग जोड्न आग्रह गरेका हुन् ।

ADVERTISEMENT

ज्ञापनपत्रमा नेपालगञ्ज–दिल्ली सिधा हवाई उडान सञ्चालनका साथै सुक्खा बन्दरगाह स्थापनाका लागि पहल गर्न माग गरिएको छ ।

ADVERTISEMENT

नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष चीरञ्जीवी ओलीले सिधा हवाई उडान सञ्चालन हुन सके यस क्षेत्रको पर्यटन, धार्मिक पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रमा ठूलो योगदान पुग्ने बताए । उनका अनुसार नेपालगञ्जलाई अन्तर्राष्ट्रिय हवाई सम्पर्कसँग जोड्न सके यो क्षेत्र पर्यटनको प्रवेशद्वार बन्न सक्छ ।

उनले नेपालगञ्जमा निर्माण भएको एकीकृत जाँच चौकीलाई स्तरोन्नति गरी सुक्खा बन्दरगाहका रूपमा विकास गर्नुपर्नेमा पनि जोड दिए । यसले सीमापार आयात–निर्यात व्यापार विस्तारमा सहयोग पुग्ने उनको भनाइ छ ।

भारतसँगको सीमावर्ती प्रमुख व्यापारिक केन्द्र भए पनि नेपालगञ्ज अन्तर्राष्ट्रिय हवाई सम्पर्क, रेलमार्ग र व्यापारिक पूर्वाधारका हिसाबले अपेक्षित रूपमा अघि बढ्न नसकेको व्यवसायीहरूको गुनासो छ ।

प्रमुख जिल्ला अधिकारी तामाङले आफू बाँके आएदेखि नै यस क्षेत्रका सरोकारवालासँग निरन्तर संवाद गरिरहेको जानकारी दिए ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा, श्रम संस्कृति पार्टीका प्रतिनिधि तथा नागरिक समाजका अगुवाहरू सहभागी थिए ।