काठमाडौँ । ईनम सापकोटासँग सम्पर्क देखिएपछि पक्राउ परेका कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल महेश श्रेष्ठलाई अदालतले थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ।

भोजपुर घर भएका श्रेष्ठलाई प्रहरीले गत कात्तिक २८ गते पक्राउ गरेको थियो। यसअघि अदालतबाट तीन दिनको म्याद लिएर अनुसन्धान गरिरहेको प्रहरीले मंगलबार पुनः दुई दिन हिरासतमा राख्न अनुमति पाएको हो।

ADVERTISEMENT

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार श्रेष्ठलाई मंसिर ३ गते ईनम सापकोटासँगै अदालतमा म्याद थपका लागि उपस्थित गराइनेछ। ईनमको म्याद पनि दुई दिन बाँकी रहेको प्रहरीले जनाएको छ।

ADVERTISEMENT

प्रहरीले श्रेष्ठमाथि सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान गरिरहेको छ। ईनममाथि भने राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत अनुसन्धान भइरहेको छ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग समेत कनेक्सन देखिएपछि पक्राउ परेका ईनमसँग सम्पर्कमा रहेका व्यक्तिहरूमाथि प्रहरीले अनुसन्धान अघि बढाएको छ। यसअघि ईनमसँग सम्पर्क देखिएका लगानी बोर्डका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील भट्टलाई असोज ३१ गते पक्राउ गरिएको थियो।

हाल ईनम, महेश श्रेष्ठ र सुशील भट्ट तीनै जना जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। प्रहरीका अनुसार तीनै जनाको म्याद मिलान गरिएको छ र अब दुई दिनपछि उनीहरूलाई अदालतमा उपस्थित गराइनेछ।