काठमाडौँ । ईनम सापकोटासहित तीन जनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।
बिहीबार काठमाडौँ जिल्ला अदालतले ईनमसहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप एक साता हिरासतमा राख्न जिल्ला प्रहरी परिसर काठमाडौँलाई अनुमति दिएको हो ।
ईनमसँगको सम्बन्ध र कनेक्सन देखिएपछि महेश श्रेष्ठ र सुशील भट्ट पक्राउ परेका थिए । श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन् ।
प्रहरीले ईनमविरुद्ध राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गतका कसुरमा अनुसन्धान गरिरहेको छ । श्रेष्ठ र भट्टमाथि भने सम्पत्ति शुद्धीकरण निवारण ऐनअन्तर्गत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग कनेक्सन देखिएपछि ईनमलाई सबैभन्दा पहिले पक्राउ गरिएको थियो । त्यसपछि उनीसँगको सम्बन्ध र सम्भावित संलग्नताबारे अनुसन्धान गर्ने क्रममा श्रेष्ठ र भट्ट पनि पक्राउ परेका हुन् ।












