काठमाडौं । ललितपुरबाट १ करोड ६७ लाख रुपैयाँभन्दा बढी नगदसहित तीन जना पक्राउ परेका छन् ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई १ करोड ६७ लाख ३३ हजार २२० रुपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भोजपुर नगरपालिका–३ का ३० वर्षीय दीपक खड्का, ललितपुरको गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं महानगरपालिका–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेका छन् ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार उनीहरूलाई बा.प्र. १–०२७ च २७६५ नम्बरको भ्यानबाट उक्त रकमसहित नियन्त्रणमा लिइएको हो ।
बरामद रकमको स्रोत र पक्राउ परेका व्यक्तिहरूमाथिको थप अनुसन्धानबारे भने प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।












