जनकपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डा. अमरेशकुमार सिंहले जनताको गुनासो, अपेक्षा र आवाज सुन्ने उद्देश्यसहित मेची–महाकाली पदयात्रा सुरु गरेका छन् ।
जनकपुरधामस्थित जानकी मन्दिरमा दर्शन गरेपछि उनले सोमबारदेखि पदयात्रा सुरु गरेका हुन् । पदयात्राको सुरुवातका क्रममा रास्वपा सभापति रवि लामिछानेले सिंहलाई राष्ट्रिय झन्डा र पार्टीको झन्डा हस्तान्तरण गर्दै सफलताको शुभकामना दिएका थिए ।
सभापति लामिछानेले पदयात्रा दल र राजनीतिभन्दा माथि उठेर देशमा शान्ति, सद्भाव र राष्ट्रिय एकताको सन्देश दिने माध्यम बन्नुपर्ने बताए । उनले विभिन्न जातजाति, भाषा र संस्कृतिलाई एकै ठाउँमा जोड्ने उद्देश्यसहित यात्रा सफल बनाउन शुभकामना दिएका थिए ।

सांसद सिंहका अनुसार यो पदयात्रा पहिलो चरणको कार्यक्रम हो । आगामी माघ १ गते पहिलो चरणको यात्रा सम्पन्न हुनेछ । त्यसपछि दोस्रो चरणमा आगामी वैशाखमा मध्यपहाडी लोकमार्ग हुँदै पदयात्रा सुरु गर्ने उनको योजना छ ।
सिंहले यात्राका क्रममा दैनिक पाँच घण्टा पैदल हिँड्ने र सात घण्टा जनतासँग प्रत्यक्ष संवाद गर्ने बताएका छन् । उनले विभिन्न जातजाति, समुदाय, वर्ग र भाषाभाषीका नागरिकसँग भेटेर उनीहरूका समस्या, सरकारसँगका अपेक्षा तथा गुनासा संकलन गर्ने बताए ।
यात्राका क्रममा नागरिकले राखेका विषयहरू अभिलेख गरेर रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री बालेन्द्र शाहलाई बुझाउने पनि सिंहले जानकारी दिएका छन् ।












