काठमाडौं । नेपालस्थित अमेरिकी र भारतीय दूतावासले छठ पर्वको अवसरमा नेपालीलाई शुभकामना व्यक्त गरेका छन् । दुवै दूतावासले सामाजिक सञ्जाल फेसबुकमार्फत शुभकामना सन्देश सार्वजनिक गरेका हुन् ।
अमेरिकी दूतावासले मैथिली भाषासहित नेपाली भाषामा छठ पर्वको शुभकामना दिएको छ । दूतावासले ‘छठि पावनिक सभगोटेमे हार्दिक मंगलमय शुभकामना’ र ‘छठ पर्वको धेरै धेरै शुभकामना’ भन्दै शुभेच्छा व्यक्त गरेको हो । त्यसैगरी, भारतीय राजदूतावासले पनि छठ पर्वको अवसरमा शुभकामना सन्देश जारी गरेको छ ।
नेपालका धार्मिक तथा सांस्कृतिक पर्वप्रति विदेशी कूटनीतिक नियोगहरूले शुभकामना व्यक्त गर्नुलाई सांस्कृतिक सद्भाव र आपसी सम्मानको अभिव्यक्तिका रूपमा लिन सकिन्छ ।
विशेषगरी तराई–मधेस क्षेत्रमा श्रद्धा र भक्तिपूर्वक मनाइने छठ पर्व पछिल्लो समय काठमाडौं उपत्यकासहित देशका विभिन्न क्षेत्रमा पनि विस्तार हुँदै गएको छ । सूर्यदेव र छठी माताको पूजा आराधना गरी मनाइने यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिने परम्परा छ ।












