काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल चीन भ्रमणमा निस्किएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को निमन्त्रणामा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा टोली आइतबार बिहान चीन प्रस्थान गरेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिनिधिमण्डललाई रास्वपाका प्रवक्ता जगदीश खरेलले बिदाइ गरेका थिए।
भ्रमणका क्रममा रास्वपा र सीपीसीबीच आपसी अनुभव आदानप्रदानका साथै सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र जनअपेक्षाअनुसारको राजनीतिक नेतृत्वलगायत विषयमा छलफल हुने महामन्त्री आचार्यले जानकारी दिए।
सत्तारूढ दलको प्रतिनिधिमण्डल भएकाले प्रधानमन्त्री बालेन्द्र शाह र पार्टी सभापति रवि लामिछानेबाट भ्रमणका विषयमा समान सुझाव आएको आचार्यले बताए।
‘सत्तारूढ दलको डेलिगेसन भएकाले प्रधानमन्त्रीले राज्यले जे सोच्छ, त्यसमा ख्याल गर्नुहोला भन्नुभएको हो । भ्रमणको विषयमा प्रधानमन्त्री र पार्टी सभापतिको समान खालको चासो र सुझाव आएका छन्,’ उनले भने।
आचार्यले भ्रमणका क्रममा सीपीसीका महासचिव तथा चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता नहुने स्पष्ट पारे। यद्यपि, बेइजिङमा सीपीसीका दोस्रो तहका नेताहरूसँग छलफल हुन सक्ने उनले बताए। छलफलमा प्रविधि, कनेक्टिभिटी र सीमापार सहकार्यका विषय प्राथमिकतामा रहने उनको भनाइ छ।
नेपाल र चीनबीच राजनीतिक संवाद, आपसी समझदारी र विकास सहकार्य विस्तार गर्ने अवसरका रूपमा दुवै पार्टीले भ्रमणलाई लिएका छन्।
प्रतिनिधिमण्डल आइतबार चीनको सिचुवान प्रान्तस्थित चेङ्दु पुग्नेछ। भ्रमण तालिकाअनुसार कात्तिक ३० गते सिचुवानस्थित ‘हाइटेक इन्टरप्राइजेज एन्ड इन्डस्ट्रियल पार्क’ अवलोकन गर्ने र सीपीसीको पार्टी स्कुलका नेताहरूसँग भेटघाट गर्ने कार्यक्रम छ। उक्त अवसरमा महामन्त्री आचार्यले रास्वपाका तर्फबाट धारणा राख्नेछन्।
मंसिर १ गते टोलीले वेनचुआन क्षेत्रमा सन् २००८ को विनाशकारी भूकम्पपछिको पुनर्निर्माणको अवस्था अवलोकन गर्नेछ। उक्त भूकम्पमा करिब ९० हजार मानिसले ज्यान गुमाएका थिए।
त्यसैगरी, मंसिर २ गते सिचुवान विश्वविद्यालयमा विपद् प्रतिकार्य व्यवस्थापनसम्बन्धी अन्तरक्रियामा सहभागी हुने कार्यक्रम छ। मंसिर ६ गते झेजियाङ विश्वविद्यालयमा ‘थिङ्क ट्याङ्क’ विकासबारे अवलोकन गर्ने र मंसिर ७ गते चीन–नेपाल ‘इन्टरप्राइजेज म्याचमेकिङ कन्फ्रेन्स’ मा सहभागी हुने टोलीको कार्यतालिका छ।
मंसिर ७ गते नै प्रतिनिधिमण्डल बेइजिङ प्रस्थान गर्नेछ। त्यहाँ सीपीसीका उच्च तहका नेताहरू तथा विज्ञहरूसँग भेटघाट र छलफल हुने आचार्यले जानकारी दिए। मंसिर १० गते भ्रमण सम्पन्न गरी टोली स्वदेश फर्किनेछ।












