काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल आज चीन भ्रमणमा जाने भएको छ। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को औपचारिक निमन्त्रणामा रास्वपाका महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा टोली चीन जान लागेको हो।
रास्वपाका प्रवक्ता जगदीश खरेलले जारी गरेको विज्ञप्तिअनुसार भ्रमणका क्रममा नेपाल र चीनका दुई राजनीतिक दलबीच आपसी अनुभव आदानप्रदान तथा विभिन्न विषयमा छलफल हुनेछ।
भ्रमणमा सुशासन, आर्थिक विकास, सार्वजनिक सेवा प्रवाह, संस्थागत क्षमता अभिवृद्धि र जनअपेक्षाअनुसारको राजनीतिक नेतृत्वलगायतका विषय प्राथमिकतामा रहने जनाइएको छ।
रास्वपा र चिनियाँ कम्युनिस्ट पार्टीले यस भ्रमणलाई दुई देशबीचको आपसी समझदारी, राजनीतिक संवाद तथा विकास सहकार्य विस्तार गर्ने अवसरका रूपमा लिएका छन्।
महामन्त्री आचार्यको नेतृत्वमा चीन जाने टोलीमा गणेश पराजुली, हरि ढकाल, कविन्द्र बुर्लाकोटी, लिमा अधिकारी आचार्य, समीक्षा बास्कोटा, सागर ढकाल, सुशान्त वैदिक, रीमा विश्वकर्मा, रमेश कुमार सापकोटा, डा. धनञ्जय रेग्मी, गजला शमिम मिकरानी, श्रीराम न्यौपाने, डा. राम लामा, पुनम कुमारी अग्रवाल, डा. आनन्दबहादुर चन्द, डा. सुजाता तामाङ, पुष्पा कुमारी चौधरी, अरविन्द शाह र रत्ना थापा रहेका छन्।
रास्वपाले भ्रमणबाट दुई राजनीतिक दलबीच सम्बन्ध विस्तार हुनुका साथै सुशासन र विकासका क्षेत्रमा अनुभव आदानप्रदान तथा सहकार्यका नयाँ अवसर पहिचान हुने अपेक्षा गरेको छ।












