दाङ – दाङको राजपुर गाउँपालिका-२ बेलाको खाल गैरा खेल मैदानमा आफ्नै छिमेकीमाथि पेट्रोल खन्याएर आगो लगाई गम्भीर घाइते बनाएको आरोपमा एक व्यक्तिलाइ प्रहरीले नियन्त्रणमा लिएको छ।

राजपुर गाउँपालिका-२ मटेरियाका ३९ वर्षिय त्रिलोक सिंह कार्कीले आफ्नै छिमेकी बलुवा डाडाका अन्दाजी ४८ वर्षिय रुपलाल चौधरी (गोमे) माथि पेट्रोल खन्याएर आगो लगाएको आरोप लागेको हो।

ADVERTISEMENT

आज अपराह्न मादक पदार्थ सेवन गरेका कार्की र चौधरीबीच आपसी विवाद भएपछि झगडा भएको थियो। सोही क्रममा कार्कीले आफूसँगै लिएर गएको पेट्रोल चौधरीको शरीरमा खन्याएर आगो लगाइदिएको बताइएको छ।

ADVERTISEMENT

आगो लागेर चौधरी गम्भीर घाइते भएका छन। घटनापछि फरार भएका कार्कीलाई वडा प्रहरी कार्यालय लमहीको टोलीले लमहीबाट नियन्त्रणमा लिएको हो। गम्भीर घाइते चौधरीलाई थप उपचारका लागि जिल्ला बाहिर लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ।