जनकपुरधाम । भारतको अयोध्यादेखि नेपालको जनकपुरधामसम्म साप्ताहिक रेल सेवा सञ्चालन हुने भएको छ । भारतीय रेल मन्त्रालयले भारतको उत्तर प्रदेशस्थित अयोध्या र मधेस प्रदेशको जनकपुरधामलाई जोड्ने रेल सेवा सञ्चालनका लागि अनुमति दिएको हो ।

आगामी मंसिर ७ गते नेपालका प्रधानमन्त्री बालेन्द्र शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भिडियो कन्फरेन्समार्फत हरियो झण्डा देखाएर रेल सेवाको शुभारम्भ गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

ADVERTISEMENT

जनकपुरधामदेखि अयोध्यासम्म चल्ने रेलले करिब ६०४ किलोमिटर दूरी तय गर्नेछ । रेल जनकपुरधामबाट जयनगर, मधुवनी, शिशो, सीतामढी, रक्सौल, नरकटियागञ्ज, गोरखपुर, बस्ती र मनकापुर हुँदै अयोध्या पुग्नेछ ।

ADVERTISEMENT

भारतीय रेल मन्त्रालयका अनुसार यो रेल सेवा सातामा एक दिन सञ्चालन हुनेछ । रेल शनिबार जनकपुरधामबाट र सोमबार अयोध्या क्यान्टबाट छुट्नेछ ।

रेल सेवा सञ्चालनमा आएपछि तीर्थयात्री, पर्यटक तथा अन्य यात्रुलाई नेपाल–भारत आवतजावत गर्न सहज हुने अपेक्षा गरिएको छ । विशेषगरी भगवान् राम र माता सीतासँग सम्बन्धित धार्मिक तथा सांस्कृतिक स्थलको भ्रमण गर्न चाहने यात्रु यसबाट लाभान्वित हुनेछन् ।

यस सेवाले नेपाल र भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा सामाजिक सम्बन्ध थप बलियो बनाउनुका साथै पर्यटन, व्यापार र क्षेत्रीय आर्थिक गतिविधिमा समेत सहयोग पुग्ने भारतीय रेल मन्त्रालयको भनाइ छ ।

लखनऊका मण्डल रेल प्रबन्धकका अनुसार रेल सेवाको शुभारम्भ कार्यक्रममा उत्तर प्रदेशका राज्यपाल आनन्दीबेन पटेल, मुख्यमन्त्री योगी आदित्यनाथ, केन्द्रीय रेलमन्त्री अश्विनी वैष्णव, उपमुख्यमन्त्री केशवप्रसाद मौर्य र ब्रजेश पाठकलगायतको उपस्थिति रहनेछ ।