बर्दिया । बर्दियाको गुलरिया नगरपालिका–११ लालपुरस्थित हुलाकी सडक खण्डमा मोटरसाइकलसँग ठोक्किएर यात्रुवाहक मिनिबस पल्टिँदा दुई जनाको मृत्यु भएको छ भने १५ जना घाइते भएका छन् ।

शनिबार दिउँसो गुलरियाबाट नेपालगन्जतर्फ जाँदै गरेको बा.५ ख ५६०५ नम्बरको मिनिबस र विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

ADVERTISEMENT

दुर्घटनामा मोटरसाइकल चालक ३४ वर्षीय हुकुमबहादुर खत्री र पछाडि सवार पहिचान नखुलेका अन्दाजी ५५ देखि ६० वर्षका पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ । दुवै जनालाई उपचारका लागि बर्दिया जिल्ला अस्पताल गुलरिया पुर्‍याइएको थियो । अस्पतालका चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए ।

ADVERTISEMENT

दुर्घटनामा बस चालकसहित १५ जना घाइते भएका छन् । घाइतेमध्ये केहीको अवस्था मध्यम रहेको छ भने सामान्य चोट लागेका केही उपचारपछि डिस्चार्ज भएका छन् ।

बस चालक गुलरिया नगरपालिका–८ का ४० वर्षीय हरि चौधरीको दाहिने हातमा चोट लागेको छ । उनको नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ ।

त्यस्तै, मधुवन नगरपालिका–९ की २६ वर्षीया ललिता चौधरी, मधुवन नगरपालिका–५ का १८ वर्षीय सुरजबहादुर राजी र १७ वर्षीय संगम वलीलाई थप उपचारका लागि नेपालगन्ज पठाइएको छ ।

अन्य घाइतेको बर्दिया जिल्ला अस्पतालमै उपचार भइरहेको छ । दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।