काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार शनिबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागमा साधारणतया बादल लाग्नेछ । बाँकी हिमाली र पहाडी क्षेत्रमा आंशिक बदली रहने अनुमान छ ।
मधेश प्रदेशसहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली हुने तथा बाँकी तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू-भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली क्षेत्रका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार शनिबार राति पनि देशका हिमाली र पहाडी भू-भागमा आंशिक बदली रहनेछ । तराईका भू-भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख थोरै स्थानमा हुस्सु वा कुहिरो लाग्ने सम्भावना छ ।
राति कोशी, गण्डकी र कर्णाली प्रदेशका हिमाली भू-भागका एक-दुई स्थानमा हल्का वर्षा वा हिमपात हुन सक्ने महाशाखाले जनाएको छ ।












