काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री विपिन आचार्यको नेतृत्वमा चीन भ्रमणमा जान लागेको सांसद तथा पार्टी नेताहरूको टोलीले प्रधानमन्त्री बालेन शाहसँग भेटवार्ता गरेको छ ।
नोभेम्बर १५ देखि २६ सम्म हुने चीन भ्रमणबारे छलफल गर्न टोली शुक्रबार बिहान ११ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेको थियो ।
भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै रास्वपा नेता एवं सांसद कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनाउने गरी भ्रमणलाई फलदायी बनाउन निर्देशन प्राप्त भएको जानकारी दिए ।
उनका अनुसार प्रधानमन्त्री शाहले चीनसँग नेपालको विशिष्ट सम्बन्धलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन् । भ्रमणलाई औपचारिकता वा पर्यटकीय गतिविधिमा मात्र सीमित नराखी नेपालको राष्ट्रिय हित र आर्थिक विकाससँग जोड्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् ।
प्रधानमन्त्रीले विशेषगरी चीनबाट प्रविधि, व्यापार, आर्थिक विकास, पर्यटन तथा कृषिको आधुनिकीकरणका क्षेत्रमा लिन सकिने लाभबारे अध्ययन गर्न टोलीलाई सुझाव दिएका छन् ।
बुर्लाकोटीका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीले तयार पारेको भ्रमण कार्यक्रममासमेत यी विषय समेटिएका छन् । टोलीले भ्रमणलाई दुई देशबीचको आपसी हित प्रवर्द्धन गर्ने र विशेषगरी नेपालको आर्थिक तथा विकासका सम्भावना पहिचान गर्ने अवसरका रूपमा उपयोग गर्ने तयारी गरेको छ ।
सीमा विवादका विषयमा भने पार्टी तहको भ्रमण भएकाले छलफल नहुने बुर्लाकोटीले स्पष्ट पारे । उनले नेपालको सीमा सम्बन्धी अडानमा कुनै परिवर्तन नरहेको पनि बताए ।
बुर्लाकोटीका अनुसार टोलीको चीन भ्रमण १० दिनको हुनेछ ।












