काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सडक दुर्घटना न्यूनीकरणका लागि सरकारले सडक सुरक्षा प्रणालीमा ठोस सुधार गर्नुपर्ने बताएका छन्।
मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा बिहीबार भएको यात्रुवाहक ईभी हाइस दुर्घटनामा १४ जनाको मृत्यु भएपछि उनले सरकारको ध्यानाकर्षण गराएका हुन्।
छठ पर्व मनाउन परिवारसहित घर फर्किरहेका यात्रु सवार हाइस दुर्घटनामा १४ जनाको मृत्यु र ६ जना घाइते भएको घटनाप्रति दुःख व्यक्त गर्दै आङ्देम्बेले मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले शोकसन्तप्त परिवारजनमा समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
साथै, घाइतेहरूको सम्पूर्ण उपचारको व्यवस्था मिलाउन उनले सरकारसँग माग गरेका छन्।
आङ्देम्बेले सवारीसाधनको अवस्था, यात्रु क्षमताको पालना तथा प्रहरी चेकपोस्टमा यात्रुको विवरण अद्यावधिक भए–नभएको विषयमा निष्पक्ष छानबिन गर्नुपर्ने बताएका छन्।
‘नागरिकको ज्यान जोगाउनु सरकारको पहिलो दायित्व हो। सडक सुरक्षा, सवारीको प्राविधिक परीक्षण, यात्रुको विवरण अभिलेख र प्रहरीको निगरानी प्रभावकारी बनाउन सरकार किन गम्भीर हुँदैन ?’ उनले प्रश्न गरेका छन्।
उनले यसअघि रोल्पाको जलजलामा भएको दुर्घटनामा २० जनाको मृत्यु भएपछि सरकारले गठन गरेको छानबिन समितिको प्रतिवेदनसमेत सार्वजनिक नगरेको भन्दै असन्तुष्टि जनाएका छन्।
हरेक दुर्घटनापछि छानबिन समिति गठन गर्ने, केही दिन चर्चा गर्ने र त्यसपछि घटनालाई बिर्सने सरकारी प्रवृत्तिको अन्त्य हुनुपर्ने उनको भनाइ छ।
‘हरेक दुर्घटनापछि छानबिन समिति बनाउने, केही दिन चर्चा गर्ने र त्यसपछि घटनालाई बिर्सने सरकारी प्रवृत्तिको अन्त्य हुनुपर्छ,’ उनले भनेका छन्।
आङ्देम्बेले सडक सुरक्षालाई प्राथमिकतामा राख्दै दुर्घटनाका कारण पहिचान गर्ने, दोषीमाथि कारबाही गर्ने र भविष्यमा यस्ता घटना दोहोरिन नदिन प्रभावकारी व्यवस्था गर्न सरकारसँग माग गरेका छन्।













