सर्लाही । मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानीगढीमा भएको माइक्रोबस दुर्घटनामा स्थानीय नागरिकको मृत्यु भएपछि सर्लाहीको चक्रघट्टा गाउँपालिकाले आज शुक्रबार शोक बिदा दिएको छ।

गाउँपालिकाले बिहीबार सूचना जारी गर्दै दुर्घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा समवेदना प्रकट गरेको छ।

ADVERTISEMENT

गाउँपालिका अध्यक्ष कृष्णकुमार यादवद्वारा जारी सूचनाअनुसार शुक्रबार गाउँ कार्यपालिकाको कार्यालय, वडा कार्यालय, सामुदायिक तथा संस्थागत विद्यालयलगायत गाउँपालिका क्षेत्रभित्रका सरकारी तथा गैरसरकारी कार्यालयमा एक दिनका लागि शोक बिदा दिइएको छ।

ADVERTISEMENT

तर, स्वास्थ्य संस्थाबाट प्रदान गरिने आकस्मिक स्वास्थ्य सेवा भने नियमित सञ्चालन हुने गाउँपालिकाले जनाएको छ।

त्यस्तै, दुर्घटनामा ज्यान गुमाएका प्रत्येक मृतकका परिवारलाई गाउँपालिकाको तर्फबाट जनही ५० हजार रुपैयाँ आर्थिक सहयोग उपलब्ध गराउने निर्णयसमेत गरिएको छ।

मकवानपुरको भीमफेदीमा भएको उक्त दुर्घटनामा चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरका मात्रै एक गर्भवती महिलासहित १३ जनाको मृत्यु भएको छ।

छठ पर्व मनाउन घर फर्किंदै गरेका आफन्तको दुर्घटनामा मृत्यु भएपछि सुन्दरपुर गाउँ शोकमा डुबेको छ। पर्वको तयारीमा रहेका परिवारमा एकैपटक ठूलो बज्रपात परेको छ।