काठमाडौं । दीपावली पर्व सकिएसँगै सूर्य उपासनाको महापर्व छठ आजदेखि सुरु भएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वको पहिलो दिन आज व्रतालुले ‘नहाय–खाय’ विधिबाट पर्वको सुरुवात गर्दैछन्।
छठ पर्वको दोस्रो दिन ‘खरना’ विधि गरिन्छ। तेस्रो दिन अर्थात् षष्ठीका दिन व्रतालुले अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गर्छन्। चौथो दिन सप्तमीका बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि छठ पर्व विधिवत् सम्पन्न हुन्छ।
सूर्यदेव र षष्ठीदेवीको उपासना गरिने यस पर्वलाई आस्था, निष्ठा र पवित्रताको प्रतीक मानिन्छ। छठमा पुराना मनमुटाव र वैमनस्य बिर्सेर सबै एकै ठाउँमा भेला भई सूर्यदेवको आराधना गर्ने परम्परा छ।
छठघाटमा जातीय तथा सामुदायिक विभेद नगरी सबैले एकै लहरमा बसेर पर्व मनाउने चलन छ। धार्मिक आस्थासँगै सामाजिक सद्भाव, समानता र आपसी एकताको सन्देश दिने पर्वका रूपमा पनि छठलाई लिइन्छ।
छठ पर्व सुरु भएसँगै मिथिला क्षेत्रका गाउँबस्ती र बजारमा चहलपहल बढेको छ। पर्वको तयारीस्वरूप घरघरमा छठका भक्तिगीत गुञ्जिन थालेका छन् भने नदी, पोखरी तथा धार्मिक महत्त्वका जलाशयमा छठघाट निर्माण र सरसफाइ भइरहेको छ।
विशेषगरी युवाहरू छठघाट निर्माण तथा सजावटमा सक्रिय देखिएका छन्। बाँसका सामग्री प्रयोग गरी घरका भित्ता लिपपोत तथा रङरोगन गर्ने, सडक र सार्वजनिक स्थलमा झिलिमिली बत्ती जडान गर्ने काम पनि भइरहेको छ।
धनी, गरिब सबैले आफ्नो क्षमताअनुसार श्रद्धा र भक्तिपूर्वक पर्व मनाउने तयारी गरेका छन्। छठले धार्मिक आस्थासँगै सामाजिक सद्भाव, सहकार्य र सामूहिक एकताको भावना बलियो बनाउने विश्वास गरिन्छ।












