काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा बिहीबार बिहान भएको माइक्रोबस दुर्घटनामा मृत्यु भएका १० जनामध्ये दुई जनाको पहिचान खुलेको छ ।
मृत्यु हुनेमा गाडी चालक सर्लाहीको कबिलासी नगरपालिका–८ निवासी करिब ३० वर्षीय रविशंकरकुमार मण्डल र सर्लाहीकै चक्रघट्टा गाउँपालिका–४, सुन्दरपुरटोलका सुवेक यादव रहेका छन् ।
मकवानपुर प्रहरीले दिएको जानकारीअनुसार गाडीमा सवार १६ जनामध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको थियो । मृतकमध्ये दुई जनाको शव हेटौँडा अस्पताल ल्याइएको छ भने बाँकी आठ जनाको पहिचान खुल्न बाँकी छ ।
दुर्घटनामा पाँच पुरुष, तीन महिला र दुई बालिकाको मृत्यु भएको थियो । सशस्त्र प्रहरीका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार दुर्घटनास्थलनजिकै झाडीमा थप एक बालक घाइते अवस्थामा भेटिएपछि घाइतेको सङ्ख्या ६ पुगेको छ । उनलाई उपचारका लागि हेटौँडा अस्पताल पठाइएको छ । यसअघि पाँच जना घाइतेको उद्धार गरी अस्पताल पुर्याइएको थियो ।
बिहीबार बिहान करिब ६:१० बजे काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको माइक्रोबस सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो । गाडीमा चालकसहित १६ जना सवार रहेको प्रारम्भिक अनुमान छ ।












