काठमाडौं । भारतको कोलकाताबाट मुम्बई जान लागेको एयर इन्डियाको विमान अपहरण गर्ने धम्कीसहितको नोट फेला परेपछि विमानस्थलमा सुरक्षा सतर्कता बढाइएको छ।
बुधबार बिहान उडान भर्नुअघि विमानको शौचालयमा अपहरणको धम्की दिइएको नोट फेला परेको थियो। त्यसपछि विमानलाई विमानस्थलको आइसोलेसन बेमा राखेर सुरक्षा जाँच सुरु गरिएको अधिकारीहरूले बताएका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार विमानस्थलका निर्देशक विक्रम सिंहले उडानको तयारी भइरहेका बेला विमानको शौचालयमा उक्त नोट फेला परेको जानकारी दिएका छन्।
विमान बिहान १०ः२० बजे उड्ने तालिका थियो। तर, नोटमा बिहान ११ः१० बजे विमान अपहरण गरिने धम्की उल्लेख गरिएको थियो।
उडानअघि पाइलटले एयर ट्राफिक कन्ट्रोल (एटीसी) लाई घटनाबारे जानकारी गराएका थिए। त्यसपछि विमानस्थलका अधिकारीहरूले आवश्यक सुरक्षा प्रक्रिया अघि बढाएका थिए।
समाचार एजेन्सी आईएएनएसका अनुसार घटनापछि विमानलाई सुरक्षित रूपमा अलग स्थानमा राखेर जाँच गरिएको थियो।












