ललितपुर । गृहमन्त्री सुधन गुरुङले नेपालको मौलिक कला, संस्कृति, परम्परा र संस्कारलाई नयाँ पुस्ताले आत्मसात् गर्दै पुस्तान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
नेपाल संवत् ११४७ को अवसरमा आज ललितपुरको पाटन दरबार क्षेत्रस्थित कात्तिक डबलीमा आयोजित कार्यक्रममा उनले आधुनिकीकरण र पश्चिमीकरणका नाममा मौलिक संस्कार, संस्कृति तथा सभ्यता बिर्सन नहुने बताएका हुन्।
‘आधुनिकता र पश्चिमी संस्कृतिको प्रभाव बढ्दै गए पनि हामीले आफ्नो मौलिक पहिचान र पुर्खाबाट प्राप्त संस्कार बिर्सन हुँदैन,’ उनले भने।
ललितपुरको कला, संस्कृति, वास्तुकला, भूगोल र ऐतिहासिक संरचनाले नेपालको पहिचान अन्तर्राष्ट्रियस्तरमा चिनाउन महत्वपूर्ण योगदान पुर्याएको उनको भनाइ थियो। पुर्खाले संरक्षण गरेर राखेका सम्पदा र परम्पराकै कारण विदेशी पर्यटकलाई नेपालको ऐतिहासिक तथा सांस्कृतिक वैभव देखाउन सम्भव भएको उनले बताए।
गृहमन्त्री गुरुङले पाटनसँग आफ्नो सामाजिक यात्राको विशेष सम्बन्ध रहेको पनि उल्लेख गरे। उनले ‘इनफ इज इनफ’ आन्दोलनका क्रममा यही क्षेत्रमा अनशन बसेको स्मरण गरे।
नेवार समुदायका जात्रा, पर्व र सामूहिक परम्पराले सामाजिक एकता कायम गर्न महत्वपूर्ण भूमिका खेलेको उनको धारणा थियो। तिहारमा घरघरमा पुगेर देउसी–भैलो खेल्ने र सामूहिक रूपमा रमाइलो गर्ने परम्परा कमजोर हुँदै गएको भन्दै उनले त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।
सरकारको जिम्मेवारी नागरिकलाई सुरक्षा प्रदान गर्नु रहेको उल्लेख गर्दै उनले सांस्कृतिक गतिविधि २४ सै घण्टा सहज रूपमा सञ्चालन गर्न सकिने निर्णय गरिएको स्पष्ट पारे।












