काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले नेपाल संवत् कुनै एक समुदाय वा जातिको मात्र नभई सम्पूर्ण नेपालीको साझा राष्ट्रिय सम्पदा भएको बताएका छन् । उनले नेपाल संवत्लाई नेपालको ऐतिहासिक सभ्यता, सांस्कृतिक गौरव र राष्ट्रिय पहिचानसँग जोडिएको महत्त्वपूर्ण सम्पदाका रूपमा संरक्षण तथा प्रवर्द्धन गर्नुपर्नेमा जोड दिएका छन् ।
मंगलबार काठमाडौंको वसन्तपुरमा नेपाल संवत् ११४७ तथा म्हःपूजाको अवसरमा आयोजित कार्यक्रममा बोल्दै सभामुख अर्यालले नेपाल संवत् केवल समय गणना गर्ने पात्रो मात्र नभई नेपालको मौलिक इतिहास र सभ्यताको पहिचान भएको बताए ।
उनले राष्ट्रिय विभूति शंखधर साख्वाको लोककल्याणकारी योगदानसँग नेपाल संवत्को सुरुवात जोडिएको उल्लेख गर्दै ऋणमा डुबेका जनतालाई ऋणमुक्त गराउने उनको योगदान सामाजिक न्याय, परोपकार र सामूहिक हितको अनुपम उदाहरण भएको बताए ।
सभामुख अर्यालले नेपाल संवत् आन्दोलनलाई नेपालको लोकतान्त्रिक तथा सांस्कृतिक आन्दोलनको महत्त्वपूर्ण अध्यायका रूपमा व्याख्या गरे । विशेषगरी पञ्चायती शासनकालमा भाषा, संस्कृति, लिपि र पहिचानको अधिकारका लागि यस अभियानले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ थियो ।
नेपाल संवत् आन्दोलनकै उपलब्धिका रूपमा शंखधर साख्वालाई राष्ट्रिय विभूति घोषणा गरिनु, नेपाल संवत्लाई राष्ट्रिय संवत्का रूपमा मान्यता प्रदान गरिनु तथा सरकारी कागजातमा समेत यसको उल्लेख हुनुलाई उनले महत्त्वपूर्ण उपलब्धि बताए ।
उनले प्राप्त उपलब्धिलाई औपचारिकतामा मात्र सीमित नराखी व्यवहारमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिए । सरकारी कार्यालय, शैक्षिक संस्था तथा सार्वजनिक निकायमा नेपाल संवत्को प्रयोग विस्तार गर्न सके यसको महत्त्व र पहिचान अझ बलियो हुने उनको धारणा थियो ।
नेपाल भाषा, नेपाल लिपि तथा समग्र मौलिक सांस्कृतिक सम्पदाको संरक्षणमा राज्य र समाज दुवैको सक्रिय भूमिका आवश्यक रहेको उनले बताए । नेपाल संवत् सबै नेपालीको साझा सम्पदा भएकाले यसको संरक्षण कुनै एक समुदायको मात्र जिम्मेवारी नभई राष्ट्रिय दायित्व भएको उनको भनाइ थियो ।
त्यसैगरी, नेपाल संवत्को दीर्घकालीन संरक्षणका लागि नयाँ पुस्तालाई यस अभियानसँग जोड्नुपर्ने उनले बताए । शिक्षा, अनुसन्धान, प्रविधि तथा दैनिक जीवनमा यसको प्रयोग विस्तार गर्न सके भावी पुस्तासम्म यसको ऐतिहासिक र सांस्कृतिक महत्त्व हस्तान्तरण गर्न सकिने उनको विश्वास थियो ।
सभामुख अर्यालले नेपाल संवत् ११४७ को अवसरमा सम्पूर्ण नेपालीमा एकता, आपसी सद्भाव, सुख, शान्ति र समृद्धिको कामनासमेत व्यक्त गरे ।












