काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय विभूति शङ्खधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् नेपालको मौलिक संवत् र राष्ट्रिय पहिचानको महत्त्वपूर्ण आधार भएको बताएका छन् ।
नेपाल संवत् ११४७ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले लिच्छविकालीन राजा राघवदेवको समयमा काठमाडौं उपत्यकाका किसान तथा गरिब जनतालाई ऋणमुक्त गरी शङ्खधर साख्वाले नयाँ युगको सुरुवात गरेको स्मरण गरेका छन् ।
नेपाली समाज सभ्य, सहिष्णु र एकताको सूत्रमा आबद्ध रहेको उल्लेख गर्दै उनले यस्ता मौलिक परम्पराले नेपाली सभ्यता, इतिहास, स्वतन्त्रता र पहिचानलाई सुदृढ बनाउँदै आएको बताएका छन् ।
काठमाडौं उपत्यकासहित देशका विभिन्न स्थानमा नेपाल संवत्को नयाँ वर्षलाई विशेष पर्वका रूपमा मनाउने गरिएको उल्लेख गर्दै राष्ट्रपतिले साख्वाले जनताको स्वतन्त्रता र आर्थिक मुक्तिका लागि गरेका लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गरेका छन् ।
उनले निःस्वार्थ भावले सामाजिक समानता, सुशासन, उन्नति र प्रगतिका लागि अग्रसर तथा प्रतिबद्ध रहन आजको दिनले सबैलाई प्रेरणा दिने विश्वास व्यक्त गरेका छन् ।
नेपाल संवत्ले सम्पूर्ण नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकता सुदृढ बनाउन योगदान पुर्याओस् भन्ने कामना पनि राष्ट्रपति पौडेलले गरेका छन् । यस संवत्ले नेपालको स्वतन्त्रता, इतिहास, संस्कृति र राष्ट्रिय पहिचानलाई थप मजबुत बनाउने उनको विश्वास छ ।












