काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज कुकुर तिहार र लक्ष्मी पूजा मनाइँदैछ। बिहान घरघरमा कुकुरलाई टीका तथा माला लगाएर मीठा खानेकुरा खुवाई पूजा गरिँदैछ भने साँझ धनधान्य, ऐश्वर्य र सम्पन्नताकी देवी लक्ष्मीको आराधना गरिँदैछ।
तिहारको दोस्रो दिनलाई नरक चतुर्दशी पनि भनिन्छ। यस दिन बिहान सबेरै उठेर नरक स्नान गर्ने धार्मिक परम्परा छ। शरीरमा तिलको तेल र सुगन्धित द्रव्य लगाएर स्नान गर्दा पापबाट मुक्ति मिल्ने र नरकको दर्शन गर्नु नपर्ने धार्मिक विश्वास रहिआएको छ।
कुकुरलाई इमानदार, आज्ञाकारी र सुरक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने जनावरका रूपमा सम्मान गर्दै आज पूजा गरिन्छ। धार्मिक मान्यताअनुसार कुकुरलाई यमराजको दूत तथा यमलोकको द्वारपाल मानिन्छ। कुकुरको पूजा गर्दा यमराज प्रसन्न हुने र मृत्युपछि यमलोकको यात्रा सहज हुने विश्वास छ।
महाभारतमा पनि स्वर्ग जाने क्रममा युधिष्ठिरसँगै गएको कुकुरको प्रसङ्ग उल्लेख छ। भैरवको वाहनसमेत मानिने कुकुरले अपराध अनुसन्धानदेखि प्राकृतिक विपद्को पूर्वसूचना दिनेसम्म महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।
आजै साँझ घरघरमा लक्ष्मीपूजा गरिन्छ। लक्ष्मीको बास हुने विश्वासमा बिहानैदेखि घर, आँगन, झ्यालढोका तथा पूजा कोठा सफा गरी फूलमालाले सजाउने गरिन्छ। साँझ घरको आँगनदेखि पूजा कोठासम्म दीप प्रज्वलन गरी लक्ष्मीको पाइला बनाएर देवीलाई घरमा स्वागत गर्ने चलन छ।
कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ। यस दिन धनलक्ष्मी, धान्यलक्ष्मी, गजलक्ष्मी, सन्तानलक्ष्मी, विद्यालक्ष्मी, विजयलक्ष्मी, ऐश्वर्यलक्ष्मी र धैर्यलक्ष्मी गरी अष्टलक्ष्मीको पूजा आराधना गरिन्छ। लक्ष्मीलाई धनसम्पत्तिको मात्र नभई शुद्धता, सकारात्मकता र समृद्धिको प्रतीकका रूपमा समेत लिइन्छ।
लक्ष्मीपूजाका अवसरमा घरमा रहेका गरगहना, नगद, धान, चामल, फलफूल तथा मिठाई चढाएर विधिपूर्वक पूजा गरिन्छ। दियो, धूप र दीपदान गरी परिवारका सदस्यले प्रसाद ग्रहण गर्ने परम्परा छ। कतिपय समुदायमा कन्या तथा छोरीचेलीलाई लक्ष्मीको प्रतीक मानेर पूजा गर्ने चलनसमेत छ।
लक्ष्मीपूजासँगै आज राति भैलो खेल्ने परम्परा पनि छ। भैलो खेल्ने चलन राजा बलि र भगवान् विष्णुको वामन अवतारसँग जोडिएको धार्मिक कथामा आधारित छ। भैलो खेल्दै घरघरमा पुगेर शुभकामना दिने र दानदक्षिणा संकलन गर्ने गरिन्छ।
यसरी कुकुरप्रतिको सम्मान, नरक स्नान, दीप प्रज्वलन र लक्ष्मी आराधनासँगै तिहारको दोस्रो दिन धार्मिक तथा सांस्कृतिक उल्लासका साथ मनाइँदैछ।












