काठमाडौँ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले आज बिहान नरक स्नान गरी यमदीप बगाएर नरक चतुर्दशी पर्व मनाएका छन्।
कार्तिक कृष्ण चतुर्दशीका दिन अरुणोदयकालअघि नदी, तलाउ, कुवा, पोखरी वा धारामा गई स्नान गर्ने परम्परा छ। स्नानपछि सालको पातमा यमदीप बालेर दक्षिण दिशातर्फ फर्काई बगाउने चलन छ। यसलाई नरक स्नान र नरक बगाउने भनिन्छ।
धर्मशास्त्रविद् प्रा. तोयराज नेपालका अनुसार आज नरक बगाएमा नरकको दर्शन गर्नु नपर्ने शास्त्रीय मान्यता छ। यही मान्यताका आधारमा यस दिनलाई नरक चतुर्दशी भनिएको हो।
आजै कुकुरको पूजा गरी मीठा परिकार खुवाउने परम्पराअनुसार कुकुर तिहार पनि मनाइँदैछ। साँझ औँसी तिथि लाग्ने भएकाले धनधान्यकी देवी लक्ष्मीको पूजा आराधना गरिँदैछ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष सहप्रा. डा. पुरुषोत्तम भट्टराईका अनुसार तिथिको घटबढका कारण यस वर्ष नरक चतुर्दशी र कुकुर तिहार तेस्रो दिन परेको हो। अरुणोदयकालअघि चतुर्दशी तिथि परेका दिन नरक स्नान गरी दीप बगाउनुपर्ने भएकाले आज बिहान पर्व मनाइएको उनले बताए।
यस वर्ष कात्तिक २० गते शुक्रबारदेखि यमपञ्चक अर्थात् तिहार सुरु भएको हो। दोस्रो दिन शनिबार काग तिहार र धनवन्तरी जयन्ती मनाइएको थियो। उज्यालोको पर्वका रूपमा चिनिने तिहारमा सहर तथा बजार दीपमालाले झिलिमिली बनेका छन्।












