काठमाडौँ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो स्थापनाको २०औँ वार्षिकोत्सवको अवसरमा तेस्रो संस्करणको ‘गरिमा रोड रेस २०८३’ आयोजना गर्ने भएको छ।
‘स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नारासहित प्रतियोगिता आगामी मङ्सिर ५ गते शनिबार काठमाडौंमा सञ्चालन हुनेछ। स्वस्थ जीवनशैली प्रवर्द्धन, खेलकुदप्रति जनचेतना अभिवृद्धि तथा धावकहरूको प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले सन् २०२४ देखि यो प्रतियोगिता आयोजना गर्दै आएको छ।
यस वर्ष प्रतियोगितामा खुला र कर्पोरेट विधामा गरी करिब १ हजार ५०० धावक सहभागी हुने अपेक्षा गरिएको बैंकले जनाएको छ।
दुई विधामा प्रतिस्पर्धा
प्रतियोगिता खुला र कर्पोरेट गरी दुई विधामा सञ्चालन हुनेछ। खुलातर्फ महिला तथा पुरुष दुवै समूहका लागि १० किलोमिटर र कर्पोरेटतर्फ दुवै समूहका लागि ५ किलोमिटर दूरी निर्धारण गरिएको छ।
कर्पोरेट विधामा नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड, नेपाल स्टक एक्सचेन्ज, बैंक तथा वित्तीय संस्था, मर्चेन्ट बैंक, बीमा कम्पनी, पेमेन्ट सर्भिस प्रोभाइडर तथा पेमेन्ट सिस्टम अपरेटरमा कार्यरत स्थायी कर्मचारीले मात्र सहभागिता जनाउन पाउनेछन्।
खुलातर्फ ५० हजार र कर्पोरेटतर्फ ३० हजार पुरस्कार
प्रतियोगितामा खुलातर्फ महिला तथा पुरुष दुवै समूहका विजेतालाई समान नगद पुरस्कार प्रदान गरिनेछ।
| स्थान | खुलातर्फ पुरस्कार | कर्पोरेटतर्फ पुरस्कार |
|---|---|---|
| प्रथम | रु. ५०,००० | रु. ३०,००० |
| द्वितीय | रु. ३५,००० | रु. २०,००० |
| तृतीय | रु. २०,००० | रु. १५,००० |
| चौथो | रु. १५,००० | रु. १०,००० |
| पाँचौँ | रु. १०,००० | रु. ५,००० |
दौड पूरा गर्ने सबै धावकलाई प्रमाणपत्र र मेडलसमेत प्रदान गरिनेछ।
यस्तो हुनेछ दौडको रुट
खुलातर्फको १० किलोमिटर दौड गरिमा विकास बैंकको केन्द्रीय कार्यालय रहेको बालुवाटारबाट सुरु हुनेछ। त्यहाँबाट बूढानीलकण्ठ नगरपालिका वडा नम्बर ३ को कार्यालय परिसर पुगेर सोही मार्ग हुँदै पुनः बालुवाटारमा आएर दौड सम्पन्न हुनेछ।
त्यस्तै, कर्पोरेटतर्फको ५ किलोमिटर दौड बालुवाटारबाट सुरु भई बाँसबारीस्थित न्युरो अस्पतालसम्म पुग्नेछ। त्यसपछि सोही मार्ग हुँदै बालुवाटारमै फर्किएर दौड पूरा हुनेछ।
प्रतियोगितालाई व्यवस्थित र प्रतिस्पर्धात्मक बनाउन बैंकले एनआरएस स्पोर्ट्स फाउन्डेसनसँग सहकार्य गरेको छ।
कसरी गर्ने दर्ता?
प्रतियोगितामा सहभागी हुन इच्छुक धावकले कात्तिक २८ गतेदेखि मङ्सिर २ गतेसम्म अनलाइनमार्फत नाम दर्ता गराउन सक्नेछन्। दर्ता शुल्क प्रतिव्यक्ति १०० रुपैयाँ निर्धारण गरिएको छ।
गरिमा विकास बैंकले खेलकुदमार्फत स्वस्थ, सक्रिय र अनुशासित समाज निर्माणमा योगदान पुर्याउने उद्देश्यसहित धावकहरूलाई प्रतियोगितामा सहभागी हुन आह्वान गरेको छ।
प्रतियोगितासम्बन्धी थप जानकारीका लागि बैंकको कल सेन्टर ०१–५९७०१७९ मा सम्पर्क गर्न सकिनेछ।










