काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुको ब्यागेज व्यवस्थापनलाई थप पारदर्शी र व्यवस्थित बनाउन लाइभ ब्यागेज ट्र्याकिङ सेवा सुरु गरिएको छ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल ‘गनेस’को पहलमा सुरु गरिएको यो व्यवस्थाअन्तर्गत अब अन्तर्राष्ट्रिय उडानबाट नेपाल आउने यात्रुले आगमन कक्ष (अराइभल एरिया) को ब्यागेज क्लेम क्षेत्रमा राखिएको डिस्प्लेमार्फत आफ्नो सामानको अवस्था प्रत्यक्ष हेर्न सक्नेछन्।

यसअघि विमानबाट झारिएको सामान ब्यागेज क्लेम क्षेत्रमा आइपुग्न लाग्ने समयबारे यात्रुले प्रत्यक्ष जानकारी पाउने व्यवस्था थिएन। सामानको प्रतीक्षामा यात्रु अन्योलमा पर्ने र पर्याप्त सूचना नहुँदा असहजता हुने गरेको थियो।

ADVERTISEMENT

नयाँ व्यवस्थाले सामानको आगमन प्रक्रिया प्रत्यक्ष देखाउन सहयोग गर्नेछ। यसबाट यात्रुले आफ्नो ब्यागेज कहिले आइपुग्छ भन्ने अनुमान गर्न सक्ने र अनावश्यक प्रतीक्षा घट्ने अपेक्षा गरिएको छ।

ADVERTISEMENT

विमानस्थलको सेवा सुधार, प्रविधिको प्रयोग र यात्रुको सुविधालाई प्राथमिकता दिँदै यो व्यवस्था लागू गरिएको हो। यसले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सेवा प्रवाहलाई थप पारदर्शी, प्रभावकारी र यात्रुमैत्री बनाउने अपेक्षा गरिएको छ।