काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अनिश्चितकालका लागि बन्द भएको छ । विषम परिस्थितिका कारण अन्तर्राष्ट्रिय विमानस्थल खुल्ने समय अनिश्चित रहेको विमानस्थल कार्यालयले सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो ।

मंगलबार दिउँसो २ः३० बजेदेखि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल बन्द छ । मंगलबार राति १ बजेसम्मका लागि बन्द गरिएको विमानस्थल पुनः आज सूचना निकालेर साँझ ६ बजेसम्म बन्द गरिएको थियो । विमानस्थल कार्यालयले थप अर्को सूचना जारी गर्दै विमानस्थल खुल्ने समय अनिश्चित भएकाले विमानस्थलसम्बन्धी सूचनाका आधारमा सम्पर्कमा रहन वायुसेवा कम्पनीहरूलाई आग्रह गरिएको छ ।

‘उपत्यकामा जारी निषेधाज्ञा, उपत्यकाभित्रको विषम परिस्थितिलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपर विमान उडान अवतरण मार्गमा देखिएको धुँवालगायतले विमानको सुरक्षामा गम्भीर असर पर्न सक्ने देखिएकाले अर्को सूचना नभएसम्मका लागि विमानस्थल बन्द रहने व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ’, सूचनामा भनिएको छ ।

ADVERTISEMENT

साथै विमानस्थल बन्द रहेको अवस्थामा विमानस्थलमा नआइदिन हुन तथा विमानस्थल खुलेको सूचना पाएपश्चात सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र विमानस्थल आउन सम्पूर्ण यात्रुवर्गमा विमानस्थलले अनुरोध गरेको छ ।

ADVERTISEMENT

अन्तर्राष्ट्रिय विमानस्थल बिहान ६ देखि राति १ बजेसम्म सञ्चालन हुँदै आएको छ । आन्तरिकतर्फ १२ हेलिकप्टर कम्पनीसहित २१ वायुसेवा कम्पनीले सेवा दिइरहेका छन् । अन्तर्राष्ट्रियतर्फ तीन नेपालीसहित ३० हवाई कम्पनीले उडान भर्दै आएका छन् ।

ADVERTISEMENT