महोत्तरी । नेपालीको दोस्रो ठूलो चाड तिहार आजदेखि सुरु हुँदैछ। मधेसका महोत्तरीसहित प्राचीन मिथिला क्षेत्रमा आज साँझ दीपमालिका गरी धनतेरस मनाइँदैछ।
मिथिला परम्पराअनुसार कात्तिक कृष्णपक्षको त्रयोदशी तिथिका दिन साँझ घरमा दीप प्रज्वलन गरी धनतेरस मनाउने चलन छ। यस अवसरमा धातुका नयाँ भाँडाकुँडा, गरगहना, खरेटो तथा धनियाँ किनेर पूजा गर्ने परम्परा रहेको छ।
मैथिल कर्मकाण्डका ज्ञाता महेशकुमार झाका अनुसार आज सूर्योदयका बेला द्वादशी तिथि रहे पनि बिहान ११ बजेर १० मिनेटपछि त्रयोदशी सुरु हुने भएकाले आजै धनतेरस मनाउन लागिएको हो। त्रयोदशी तिथि शनिबार बिहान १० बजेर ४७ मिनेटसम्म रहनेछ।
मिथिला क्षेत्रमा चाडपर्व, तिथिश्राद्ध तथा शुभकार्यको निर्धारण मिथिला पञ्चाङ्ग र विद्यापति पञ्चाङ्गका आधारमा गर्ने प्रचलन छ। यहाँ दीपावलीलाई बोलीचालीमा दिवालीसमेत भन्ने गरिन्छ।
यसपटक तिथिको घटबढका कारण मिथिला क्षेत्रमा तिहार पाँच दिनको सट्टा छ दिनसम्म मनाइने भएको छ। त्रयोदशीकै दिन गरिने काग पूजा र धन्वन्तरी जयन्ती भने शनिबार परेको छ।
पञ्चाङ्गअनुसार आइतबार बिहान कात्तिक कृष्णपक्षको चतुर्दशी तिथिमा कुकुर पूजा गरिनेछ भने सोही दिन साँझ लक्ष्मीपूजा हुनेछ। मैथिल परम्पराअनुसार आगामी बुधबार भैयादूज मनाएसँगै दीपावली पर्व सम्पन्न हुनेछ।










