काठमाडौँ । अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्ट बेपत्ता तथा हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्टले श्रीमतीको शव टुक्रा–टुक्रा पारेको स्वीकार गरेका छन्।

हत्यासम्बन्धी मुद्दाको सुनुवाइका क्रममा बिहीबार अदालतमा बयान दिँदै नरेशले ममताको शव शयनकक्षको भुइँमा फेला पारेपछि टुक्रा पारेको बताएका हुन्। उनले सन् २०२४ जुलाई ३० को बिहान ममतालाई अचेत अवस्थामा भेटेको दाबी गरेका छन्।

ADVERTISEMENT

नरेशका अनुसार ममताको मुख र भुइँमा रगत, खानाका टुक्रा, क्याप्सुल तथा कीटनाशक विषादीका रूपमा प्रयोग हुने ‘सेलफोस’ का अवशेषसहितको वान्ता देखिएको थियो। उनले श्रीमतीलाई बोलाउने प्रयास गर्नुका साथै सिपिआरलगायत जीवनरक्षक उपाय अपनाएको बयान दिएका छन्।

ADVERTISEMENT

तर, त्यसपछि उनले शव टुक्रा पार्ने निर्णय गरेको अदालतमा बताएका छन्। सुरुमा शरीरको तल्लो भाग अलग्याउने प्रयास गरेको र शवलाई बाथरुममा लगेको उनको भनाइ छ। शारीरिक रूपमा कमजोर महसुस भएपछि पहिलो दिनमै उक्त काम रोकेको उनले बताएका छन्।

त्यसपछि नाबालक छोरीको हेरचाह, खाना खुवाउने र सुताउने काममा लागेको तथा उक्त रात डरका कारण सुत्न नसकेको पनि उनले अदालतसमक्ष बताएका छन्।

नरेशविरुद्ध फस्ट डिग्री मर्डर, शव लुकाएको र शव क्षतविक्षत पारेको अभियोग लगाइएको छ। ममताको शव भने अहिलेसम्म फेला परेको छैन।

युभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत ममता काममा उपस्थित नभएपछि उनको खोजी सुरु भएको थियो। नरेशले अगस्ट ५, २०२४ मा मात्रै प्रहरीमा श्रीमती बेपत्ता भएको उजुरी दिएका थिए।

अनुसन्धानका क्रममा प्रहरीको टोलीले उनीहरूको शयनकक्ष र बाथरुममा रगतका टाटा फेला पारेको थियो। साथै, कपालका टुक्रा अड्किएको विद्युतीय आरा बरामद भएपछि प्रहरीले सन् २०२४ अगस्ट २२ मा नरेशलाई पक्राउ गरेको थियो। पक्राउ परेयता उनी निरन्तर हिरासतमा छन्।