धनगढी । काठमाडौंबाट महेन्द्रनगर आउँदै गरेको यात्रुबाहक बसमा महिला यात्रुमाथि दुर्व्यवहार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
कञ्चनपुर प्रहरीले भीमदत्त नगरपालिका–९ का समीर बिष्ट, अनिल नाथ योगी र भीमदत्त नगरपालिका–३ तिलकेनीका जीवन बमलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता डीएसपी टेकबहादुर रावतका अनुसार गत १७ कात्तिकमा बसमा यात्रा गर्ने क्रममा आफूमाथि दुर्व्यवहार भएको भन्दै एक युवतीले निवेदन दिएपछि उनीहरूलाई पक्राउ गरिएको हो।
महाकाली यातायातको सुपप्र ०२–००१ ख १५६५ नम्बरको बसमा जडान गरिएको सीसीटीभी क्यामेरामा कैद भएको घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि घटनाले थप चर्चा पाएको थियो।
प्रहरीका अनुसार घटनाबारे सूचना पाएपछि बुटवल प्रहरीले सोही राति बुटवल चौराहबाट तीनै जनालाई नियन्त्रणमा लिएको थियो। उनीहरू एक रात बुटवल प्रहरीको हिरासतमा बसेपछि पीडितको आग्रहअनुसार महेन्द्रनगर पठाइएको थियो।
त्यसपछि पीडित युवतीको उजुरीका आधारमा कञ्चनपुर प्रहरीले उनीहरूलाई पुनः नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।
बसका कर्मचारीका अनुसार तीनै जनाले धादिङको धार्केदेखि मदिरा सेवन गरी होहल्ला गर्नुका साथै महिला यात्रुलाई लक्षित गरेर अपशब्द प्रयोग र अभद्र व्यवहार गरेका थिए। अन्य यात्रुले सम्झाउँदासमेत उनीहरूले व्यवहार नरोकेको बताइएको छ।










