काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको खेलकुद विकासमा भारतसँग कसरी सहकार्य गर्न सकिन्छ भन्ने विषयमा भारतीय विदेश सचिव विक्रम मिश्रीसँग चासो व्यक्त गरेका छन्।
दुईदिने नेपाल भ्रमणमा रहेका मिश्रीसँग बिहीबार प्रधानमन्त्री शाहले शिष्टाचार भेट गर्दै खेलकुद क्षेत्रको विकास र द्विपक्षीय सहकार्यबारे छलफल गरेका हुन्। प्रधानमन्त्री कार्यालयका अनुसार भेटमा नेपाल–भारत सम्बन्धका विभिन्न विषयमा समेत कुराकानी भएको थियो।
भेटका क्रममा प्रधानमन्त्री शाहले हालै रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि भारत सरकारले उद्धार टोली परिचालन गर्नुका साथै राहत सामग्री उपलब्ध गराएर गरेको सहयोगप्रति आभार व्यक्त गरे।
भारतीय विदेश सचिव मिश्रीले प्रधानमन्त्री शाहको आसन्न भारत भ्रमणको तयारी तीव्र पारिएको जानकारी गराउँदै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सन्देशसमेत सुनाएका थिए।
उनले ऊर्जा, जलस्रोत, व्यापार–पारवहन र उड्डयनसम्बन्धी नेपाल–भारत द्विपक्षीय संयन्त्रका नियमित बैठकहरू सफलतापूर्वक सम्पन्न भएको जानकारी दिए।
यसैगरी, भारतको अयोध्यादेखि नेपालको जनकपुरसम्म रेल सेवा सञ्चालनका लागि आवश्यक तयारी पूरा भएको पनि मिश्रीले बताएका छन्। बिहीबार नै उक्त रेलमार्गमा परीक्षण सञ्चालन गरिएको थियो।










