काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमा जनकपुर बोल्ट्सले टस जितेर पूर्वविजेता लुम्बिनी लायन्सलाई पहिले ब्याटिङको निम्तो दिएको छ।
जारी प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरिरहेका यी दुई टोलीबीचको भिडन्तलाई महत्वपूर्ण खेलका रूपमा हेरिएको छ। लुम्बिनी जारी संस्करणमा हालसम्म अपराजित एकमात्र टोली हो। तीन खेल खेलेको उसले दुई जित र वर्षाका कारण रद्द भएको एक खेलबाट अंक बाँड्दै कुल ५ अंक जोडेको छ।
तालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी आजको खेल जित्दै आफ्नो अग्रता थप बलियो बनाउन चाहन्छ। कम्तीमा एक जितले पनि उसको प्लेअफ यात्रालाई सहज बनाउनेछ।
पहिलो संस्करणको उपाधि विजेता जनकपुर भने दोस्रो संस्करणको कमजोर प्रदर्शन बिर्साउँदै यसपटक पुनरागमन गर्ने प्रयासमा छ। चार खेलबाट दुई जित र दुई हार बेहोरेको जनकपुरले ४ अंक जोड्दै तालिकाको चौथो स्थानमा रहेको छ।
आजको खेलमा जित निकाल्न सके जनकपुरले अंकतालिकामा आफ्नो स्थिति सुधार गर्नुका साथै शीर्ष स्थानको प्रतिस्पर्धामा समेत आफूलाई बलियो बनाउनेछ।
यी दुई टोलीबीच यसअघि एनपीएलका दुई संस्करणमा प्रतिस्पर्धा भइसकेको छ। पहिलो संस्करणमा जनकपुरले लुम्बिनीलाई १ रनले पराजित गरेको थियो भने दोस्रो संस्करणमा लुम्बिनीले ४ विकेटको जित निकाल्दै बदला लिएको थियो।
यससँगै आजको खेल दुवै टोलीबीचको तेस्रो भेटसमेत हो। आजै साँझ ५ बजे विराटनगर किङ्स र काठमाडौं गोर्खाजबीच दोस्रो खेल हुनेछ।










