काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा काठमाडौं गोर्खाजले जनकपुर बोल्ट्सलाई ११६ रनको लक्ष्य दिएको छ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रनमा अलआउट भयो।

ADVERTISEMENT

काठमाडौंका लागि भीम सार्कीले सर्वाधिक ३३ रन बनाए। उनले २९ बलमा चार चौका प्रहार गरे। त्यस्तै, राशिद खानले १७, स्मित पटेलले १३ र सुमित महर्जनले १० रन जोडे। अन्य ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेनन्।

ADVERTISEMENT

जनकपुरका युवा तीव्र गतिका बलर राहुल यादवले उत्कृष्ट बलिङ गर्दै चार ओभरमा ३१ रन खर्चेर चार विकेट लिए। सैफ हसनले दुई विकेट लिए भने कप्तान हरमित सिंह, ललितनारायण राजवंशी र मोइन अलीले एक–एक विकेट हात पारे।

प्रतियोगितामा जनकपुरले आफ्नो पहिलो खेलमा कर्णाली याक्ससँग हार बेहोरेको थियो। काठमाडौंले भने आज प्रतियोगितामा पहिलो खेल खेलेको हो।

यसैबीच, आजै हुने दोस्रो खेलमा विराटनगर किङ्स र कर्णाली याक्स भिड्नेछन्। कीर्तिपुरस्थित मैदानमा हुने उक्त खेल अपराह्न ५ बजे सुरु हुनेछ।

विराटनगर पहिलो जितको खोजीमा छ। उसले पहिलो खेलमा चितवन राइनोजसँग आठ रनको हार बेहोरेको थियो। अर्कोतर्फ, कर्णाली याक्स जनकपुरलाई १९ रनले पराजित गरेको आत्मविश्वाससहित लगातार दोस्रो जित निकाल्ने लक्ष्यमा छ। मंसिर ५ गतेसम्म सञ्चालन हुने तेस्रो संस्करणको एनपीएलमा आठ टोली सहभागी छन्।