काठमाडौं । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले आफूलाई पदबाट हटाउने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दिएका छन्। उनले नेपाल प्रहरीको महानिरीक्षक पदमा पुनर्बहालीको माग गर्दै सर्वोच्चमा रिट पठाएका हुन्।
कार्कीले बिहीबार वारेसमार्फत सर्वोच्च अदालतमा रिट निवेदन पठाएको अधिवक्ता टीकाबहादुर कुँवरले जानकारी दिएका छन्। उनका अनुसार रिट सर्वोच्च अदालतमा पुगिसकेको छ र अहिले अध्ययन भइरहेको छ।
‘रिट पठाइसकेका छौँ। सर्वोच्चले अध्ययन गरिरहेको होला,’ अधिवक्ता कुँवरले भने।यद्यपि, सर्वोच्च अदालतमा रिट निवेदन औपचारिक रूपमा दर्ता भने भइसकेको छैन। अदालतले निवेदन अध्ययन गरेपछि दर्ता गर्ने वा नगर्ने विषयमा निर्णय लिनेछ।
सरकारले हालै कार्कीलाई नेपाल प्रहरीको महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारी दिएको थियो। उनको स्थानमा एआइजी मनोजकुमार केसीलाई प्रहरी महानिरीक्षक नियुक्त गरिएको थियो।
सरकारको उक्त निर्णयप्रति असन्तुष्टि जनाउँदै कार्कीले कानुनी बाटो रोजेका हुन्। रिटमा आफूलाई प्रहरी महानिरीक्षक पदबाट हटाउने निर्णय बदर गरी पुनः सोही पदमा बहाली गर्न माग गरिएको छ।
कार्कीको रिट दर्ता हुने वा नहुने र अदालतले त्यसमा कस्तो आदेश दिने भन्ने विषयले प्रहरी नेतृत्व परिवर्तनसम्बन्धी सरकारी निर्णयको कानुनी परीक्षणलाई महत्वपूर्ण बनाउने देखिएको छ।










