सुर्खेत । डोल्पा जिल्ला कारागारबाट सुरुङ खनेर फरार भएका आठ कैदीबन्दीमध्ये थप दुई कैदी बुधबार पक्राउ परेका छन् ।
फरार भएको पाँचौँ दिन बुधबार थप दुईजना पक्राउ परेसँगै नियन्त्रणमा आउने कैदीबन्दीको संख्या चार पुगेको छ । अझै चार जना कैदीबन्दी फरार छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार बुधबार त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित रङ गाउँमा स्थानीय कमला बुढाको घरमा लुकेर बसिरहेको अवस्थामा दुईजनालाई बुधबार पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा त्रिपुरासुन्दरी नगरपालिका–७ निवासी २९ वर्षीय कालीप्रसाद रोकाय र जाजरकोटको नलगाड नगरपालिका–९ निवासी १९ वर्षीय कैलाश भन्ने कपिल परियार छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाका अनुसार रोकाय जबर्जस्ती करणीसम्बन्धी कसुरमा अदालतबाट आठ वर्ष कैद सजाय तोकिएका कैदी हुन् । परियार चोरीसम्बन्धी कसुरमा तीन वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए ।
यसअघि मंगलबार रुकुम पश्चिम प्रहरीले फरार दुई कैदीलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका अनुसार आठबिसकोट नगरपालिका–६, दामाचौरस्थित खोली बगरबाट बिहान १०ः३० बजे उनीहरूलाई नियन्त्रणमा लिइएको थियो ।
पक्राउ पर्नेमा रुकुम पश्चिमको आठबिसकोट नगरपालिका–१० निवासी ३२ वर्षीय रामबहादुर विक र सल्यानको कुमाख गाउँपालिका–५ निवासी २८ वर्षीय रेशम राना छन् । प्रहरीले उनीहरू दुवै जना जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका कैदी भएको जनाएको छ ।
कात्तिक १४ गते बिहान करिब ६ बजे डोल्पाको ठूलीभेरी नगरपालिका–३ स्थित जिल्ला कारागारबाट आठ कैदीबन्दी फरार भएका थिए । उनीहरूले कारागारभित्र सुरुङ खनेर त्यही बाटो हुँदै भागेका थिए । घटना सार्वजनिक भएपछि फरार कैदीबन्दीको खोजी तथा पक्राउका लागि प्रहरीले विभिन्न टोली परिचालन गरेको थियो ।
कारागारबाट एकैपटक आठ कैदीबन्दी सुरुङ खनेर फरार भएपछि प्रहरीले उनीहरूको खोजीलाई तीव्र बनाएको छ । फरार भएकामध्ये मंगलबार र बुधबार दुई–दुई जना पक्राउ परेका हुन् । पाँचदिनको अवधिमा आधा कैदीबन्दी पक्राउ परे पनि बाँकी चारजनाको अवस्था अझै अज्ञात छ ।
प्रहरीले फरार रहेका अन्य कैदीबन्दीको खोजी तथा पक्राउका लागि अभियान जारी राखेको जनाएको छ ।










