काठमाडौं । वेस्ट इन्डिजका अलराउन्डर आन्द्रे रसेलले नेपाल प्रिमियर लिग (एनपीएल) मा विराटनगर किंग्सबाट अर्को खेल पनि खेल्ने भएका छन्।
यसअघि मंगलबारको खेलसम्म मात्रै एनपीएल खेल्ने योजना बनाएका रसेलले नेपाली समर्थकको उत्साहबाट प्रभावित भएर आफ्नो बसाइ लम्ब्याउने निर्णय गरेका हुन्।
मंगलबार जनकपुर बोल्ट्सविरुद्धको खेलपछि उनले अर्को खेल पनि खेल्ने जानकारी दिएका हुन्। ‘म यहाँ मज्जा लिइरहेको छु। अर्को खेलसमेत खेल्दै छु,’ उनले भने, ‘यहाँका समर्थक साँच्चै गजबका छन्। चौका वा छक्का जाँदा, विकेट झर्दा ठूलो आवाज सुनिन्छ। यसले हामीलाई निकै आनन्द दिन्छ।’
नेपाली समर्थकको उत्साह क्रिकेटका लागि पनि महत्त्वपूर्ण रहेको उनको भनाइ थियो। ‘यहाँको बसाइ लम्ब्याउन पाउँदा निकै खुसी छु। सम्भवतः अर्को वर्ष पूरै प्रतियोगिता खेल्ने गरी आउन पाउनेछु। सबैलाई धेरै माया,’ उनले भने।
रसेलले मंगलबार जनकपुरविरुद्धको खेलमा उत्कृष्ट अलराउन्ड प्रदर्शन गरेका थिए। उनले ब्याटिङमा अविजित ५२ रन बनाउनुका साथै बलिङमा ४ विकेट लिएका थिए। अन्तिम बलमा विकेट लिँदै उनले विराटनगरलाई २ रनको रोमाञ्चक जित दिलाएका थिए।
एनपीएल खेल्न रसेल कात्तिक ८ गते नेपाल आइपुगेका थिए। नेपाली समर्थकबाट पाएको न्यानो स्वागत र उत्साहले उनको नेपाल बसाइ थप लम्बिएको छ।










