काठमाडौं । काठमाडौंको सुन्दरीजलमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना गम्भीर घाइते भएका छन्।
सोमबार राति करिब ८ बजे भएको दुर्घटनामा सुनसरीको इटहरी घर भएका ४५ वर्षीय सन्तोष ढुंगानाको मृत्यु भएको प्रहरीले जनाएको छ।
बागमती प्रदेश ०२–००९ प ९१५७ नम्बरको मोटरसाइकलका चालक ढुंगाना अर्को मोटरसाइकलसँग ठोक्किएर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि नेपाल मेडिकल कलेज लगिएकोमा उपचारकै क्रममा मृत्यु भएको हो।
दुर्घटनामा अर्को मोटरसाइकलका चालक पनि गम्भीर घाइते भएका छन्। उनको नाम र मोटरसाइकलको विवरण प्रहरीले सार्वजनिक गरेको छैन। उनको पनि नेपाल मेडिकल कलेजमै उपचार भइरहेको प्रहरीले जनाएको छ।









