महोत्तरी । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेस प्रदेश सरकार गठन र स्थायित्वका विषयमा विभिन्न दलबीच सघन छलफल भइरहेको बताएका छन्।
पार्टीको राष्ट्रिय जागरण अभियानअन्तर्गत मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रममा सहभागी हुन बर्दिबास पुगेका दाहालले सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै सरकार गठनका विभिन्न विकल्प खुला राखेर संवाद भइरहेको बताएका हुन्।
“हामी लोकतान्त्रिक गणतन्त्रका पक्षधर राजनीतिक दल मधेस सरकारको स्थायित्वका लागि सघन छलफलमा छौँ, अब चाँडै यसबारे निष्कर्षमा पुग्नेछौँ,” उनले भने।
दाहालले लोकतान्त्रिक गणतन्त्रका पक्षधर दलबीच सहकार्य, समन्वय र आपसी सम्बन्ध सुदृढ बनाउने उद्देश्यले आफ्नो पार्टीले राष्ट्रिय जागरण अभियान सञ्चालन गरिरहेको बताए।
अभियान मुख्यतः पार्टीको आन्तरिक संगठनात्मक काम व्यवस्थित गर्न केन्द्रित रहेको उल्लेख गर्दै उनले यसैमार्फत लोकतान्त्रिक गणतन्त्र पक्षधर दलबीचको सम्बन्ध थप प्रगाढ बनाउँदै लैजाने बताए।
यसैबीच, नेकपाले राष्ट्रिय जागरण अभियानअन्तर्गत सोमबार बर्दिबासमा मधेस प्रदेशस्तरीय अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा मधेसभरिका पार्टी केन्द्रीय सदस्य, प्रदेश कमिटीका पदाधिकारी तथा जिल्ला अध्यक्ष र संयोजक सहभागी हुने मधेस प्रदेश इन्चार्ज राजु खड्काले जानकारी दिए। कार्यक्रममा पार्टीका सहसंयोजक माधवकुमार नेपाल पनि सहभागी रहने जनाइएको छ।









