मुक्तिनाथ (मुस्ताङ), कात्तिक १३ गते । हिमाली भूगोल, भिरालो जमिन, कमजोर भौगर्भिक बनोट र जलवायु परिवर्तनका कारण मुस्ताङमा बर्सेनि ११ लाख ४६ हजार टनभन्दा बढी माटो बाढीपहिरोले बगाउने गरेको छ। भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको अध्ययनअनुसार जिल्लामा तीव्र भूक्षय हुँदा कालीगण्डकी नदीको सतहसमेत जोखिमपूर्ण अवस्थामा पुगेको छ।

कार्यालयका वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शम्भुकुमार मिश्रका अनुसार एक दशकअघिसम्म कालीगण्डकी नदीमा प्रतिवर्ष करिब एक फिट नदीजन्य पदार्थ थुप्रिने गरेको थियो। तर पछिल्लो अध्ययनले नदीको सतह वर्षमै २.५ मिटर उकासिने गरेको देखाएको छ।

ADVERTISEMENT

“हरेक वर्ष नदीको सतह उकासिएको छ। मानवीय त्रुटि र जलवायु परिवर्तनले विनाश निम्त्याएको छ,” मिश्रले भन्नुभयो।

ADVERTISEMENT

उहाँका अनुसार कमजोर माटो भएको क्षेत्रमा रुख कटान गर्दा प्रतिवर्ष प्रतिवर्ग किलोमिटर पाँच हजारदेखि १० हजार टनसम्म माटो बग्ने गरेको छ। वनक्षेत्रबाट प्राकृतिक रूपमा प्रतिवर्ष १० देखि १२ टन र खेतीपाती हुने जमिनबाट प्रतिहेक्टर करिब एक सय टनसम्म माटो बगेर नदीमा मिसिने गरेको उहाँले बताउनुभयो।

अधिक मनसुनी वर्षाका कारण सहायक नदीमा आउने बाढीको चाप कालीगण्डकीमा पर्ने गरेको छ। गेगरसहितको बाढीको तीव्र वेग मानवनिर्मित संरचनाले थेग्न नसक्ने मिश्रको भनाइ छ। मुस्ताङमा वार्षिक अधिकतम ६६५ मिलिमिटरसम्म वर्षा हुने गरेको छ। भूकम्पीय कम्पन, भौगर्भिक हलचल र प्राकृतिक रूपमा जमिन खिइँदै जाने प्रक्रियाले पनि भूक्षयको जोखिम बढाएको उहाँले बताउनुभयो।

यसलाई न्यूनीकरण गर्न सडक विस्तार तथा अन्य मानवीय गतिविधिमा वातावरणीय संवेदनशीलता अपनाउनुपर्ने उहाँको सुझाव छ।

अध्ययनले भूक्षयका कारण जमिनको उर्वराशक्ति घट्नुका साथै नदी तथा खोलामा गेगर थुप्रिने समस्या बढेको देखाएको छ। बस्ती नजिकै थुप्रिएको गेगर तत्काल हटाउने र नदीको सतहमा नियमित निगरानी गर्नुपर्ने सुझाव पनि अध्ययनले दिएको छ।

करिब तीन हजार ५७३ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको मुस्ताङ समुद्री सतहबाट दुई हजार १० मिटरदेखि आठ हजार १६७ मिटरसम्मको उचाइमा अवस्थित छ। तिब्बतसँग सीमा जोडिएको लोमान्थाङ, लोघेकर दामोदरकुण्ड, वारागुङ मुक्तिक्षेत्र, घरपझोङ र थासाङ गाउँपालिकाका नदी तटीय क्षेत्रमा नदीजन्य पदार्थ थुप्रिँदा बर्खायाममा उर्लिने कालीगण्डकीले बस्तीसमेत कटान गर्ने गरेको छ।

मुस्ताङबाट बग्ने कालीगण्डकीले म्याग्दी, पर्वत र बागलुङ हुँदै तल्लो तटीय क्षेत्रसम्म जोखिम बढाएको छ। गत असोज ९ देखि १२ गतेसम्म परेको वर्षाका क्रममा मुस्ताङमा कालीगण्डकीमा आएको बाढीको असर म्याग्दी र पर्वतसम्म पुगेको थियो।

घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले कालीगण्डकी र यसका सहायक नदीका कारण धेरै जिल्ला प्रभावित हुने भएकाले नदीमा थुप्रिने गेगरको उचित व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो।

भू तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतको कार्यक्षेत्र गण्डकी प्रदेशका मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वत र स्याङ्जा गरी पाँच जिल्ला रहेको छ। कार्यालयको तथ्याङ्कअनुसार यी पाँच जिल्लामा वार्षिक दुई करोड १० लाख ३४ हजार ७०२ टनभन्दा बढी माटो भूक्षय हुने गरेको छ।