काठमाडौं । कामना सेवा विकास बैंकले आयोजना गर्न लागेको ‘कामना सेवा फुटसल कप’ को छैटौँ संस्करणका लागि टाइसर्ट, जर्सी, ट्रफी र ब्रान्ड एन्थम सार्वजनिक गरेको छ। कात्तिक ११ गते आयोजित कार्यक्रममा प्रतियोगितामा सहभागी टोलीका प्रतिनिधि, टिम म्यानेजर, रेफ्री तथा बैंकका कर्मचारीको उपस्थिति थियो।
कार्यक्रममा बैंकका प्रमुख सञ्चालन अधिकृत रघुनाथ त्रिपाठीले फुटसल कप बैंकका लागि प्रतियोगितामा मात्र सीमित नभई खेलकुदमार्फत समाज र युवासँग जोडिने माध्यम भएको बताए। खेलकुदले स्वस्थ जीवनशैली, अनुशासन र टिमवर्कको सन्देश दिने भएकाले बैंकले यस्ता कार्यक्रमलाई निरन्तरता दिँदै आएको उनको भनाइ थियो।
कार्यक्रममा त्रिपाठीले प्रतियोगिताको ब्रान्ड एन्थम सार्वजनिक गर्नुका साथै सहभागी टोलीका टिम म्यानेजरलाई जर्सी हस्तान्तरण गरेका थिए। सोही अवसरमा प्रतियोगिताको ट्रफी र टाइसर्ट पनि सार्वजनिक गरिएको थियो।
प्रतियोगिताको अघिल्लो संस्करणमा पुरुषतर्फ सिद्धार्थ बैंक र महिलातर्फ लुम्बिनी विकास बैंकले उपाधि जितेका थिए। कार्यक्रममा दुवै बैंकका प्रतिनिधिले प्रतियोगिताले बैंक तथा वित्तीय संस्थाका कर्मचारीबीच आपसी सम्बन्ध र सहकार्य बढाउन मद्दत गरेको बताए।
FIFA तथा AFC Elite Assistant Referee हरिश कार्कीले प्रतियोगितामा सहभागी टोलीलाई खेलका नियमबारे जानकारी गराएका थिए। उनले खेलको अनुशासन, फाउल र निर्णयसम्बन्धी नियम बुझेर स्वच्छ तथा रोमाञ्चक प्रतिस्पर्धा गर्न आग्रह गरे। कार्यक्रममा फुटसल रेफ्री सङ्गीता सुनुवारको पनि उपस्थिति थियो।
यस वर्षको प्रतियोगितामा पुरुषतर्फ २० र महिलातर्फ १० टोलीले प्रतिस्पर्धा गर्नेछन्। खेलहरू कात्तिक १४ र १५ गते धन्वन्तरी फुटसल कोर्टमा सञ्चालन हुने बैंकले जनाएको छ।
कामना सेवा विकास बैंकले खेलकुदको प्रवर्द्धन, युवा प्रतिभालाई मञ्च प्रदान तथा महिला सहभागिता प्रोत्साहन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।








