काठमाडौं । भोटेकोसी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिले विपद्बाट प्रभावित ४९ वटै वडाको छुट्टाछुट्टै क्षति विवरण प्रमाणित गरेर उपलब्ध गराउन सरकारसँग माग गरेको छ।
समितिका सभापति कृष्णप्रसाद पौडेलले बुधबार सिंहदरबारमा भएको छलफलका क्रममा प्रभावित वडामा भएको मानवीय क्षति, बेपत्ता भएका व्यक्ति, कृषि तथा अन्य क्षेत्रमा भएको नोक्सानी र राहत वितरणको वास्तविक विवरण उपलब्ध गराउन सम्बन्धित सरकारी निकायलाई निर्देशन दिएका हुन्।
स्थलगत निरीक्षणमा जानुअघि नै ४९ वटै वडाको क्षति विवरण आवश्यक रहेको उल्लेख गर्दै पौडेलले सरकारी निकायबाट तथ्याङ्क प्रमाणित गरी हस्ताक्षरसहित उपलब्ध गराउनुपर्ने बताए।
उनका अनुसार प्रमाणित तथ्याङ्क प्राप्त भएपछि मात्रै समितिले तथ्यपरक तथा विश्वसनीय प्रतिवेदन तयार गर्न र प्रमाणमा आधारित सुझाव दिन सक्नेछ।
समितिले सरकारी प्रतिवेदनमा उल्लेख गरिएको राहत वितरणको विवरण र प्रभावित नागरिकले वास्तविक रूपमा राहत तथा क्षतिपूर्ति पाए वा पाएनन् भन्ने विषयमा स्थलगत निरीक्षणका क्रममा तुलना गर्ने जनाएको छ।
सभापति पौडेलले राष्ट्रिय सभाको जिम्मेवारीअनुसार प्रभावित नागरिकले भोगेको वास्तविक अवस्था उजागर गर्नु समितिको उद्देश्य रहेको बताए। उनले आवश्यक विवरण यथाशीघ्र उपलब्ध गराउन आग्रह गर्दै तथ्याङ्क प्राप्त भएपछि मात्रै स्थलगत निरीक्षण अघि बढाइने स्पष्ट पारे।








