विराटनगर । कोशी प्रदेश सरकारले सप्तकोशी नदीमा भएको पानीबोट दुर्घटनाको सत्यतथ्य अध्ययन तथा छानबिन गर्न प्रदेश सचिव आसमान तामाङको संयोजकत्वमा समिति गठन गरेको छ। मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले सात दिनभित्र प्रतिवेदन पेस गर्ने गरी समिति गठन गर्ने निर्णय गरेको हो।
आइतबार दिउँसो भोजपुरबाट सुनसरीको वराहक्षेत्रस्थित चतरातर्फ आउँदै गरेको पानीबोट अरुण र दूधकोशीको दोभानमा दुर्घटनामा परेको थियो। दुर्घटनामा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन्।
मृत्यु हुनेमा सुनसरीका लिला राई र आर्या राई तथा भोजपुरका रत्नबहादुर नेपाली रहेका छन्। दुर्घटनाप्रति मन्त्रिपरिषद्ले दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ। साथै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बेपत्ता व्यक्तिको उद्धारका लागि सम्बन्धित निकायलाई अनुरोध गर्ने निर्णयसमेत भएको सरकारका प्रवक्ता तथा आन्तरिक मामिला एवं कानुनमन्त्री गोम्बु शेर्पाले जानकारी दिए।
मन्त्रिपरिषद् बैठकले मुख्य न्यायाधिवक्ताको कार्यालयको आर्थिक वर्ष २०८२/८३ को वार्षिक प्रतिवेदन प्रदेशसभामा पेस गर्ने निर्णय पनि गरेको छ। त्यसैगरी, बैठकले कोशी प्रदेश समन्वयात्मक पर्यटकीय सेवा कक्ष तथा हटलाइन सञ्चालन निर्देशिका, २०८३ स्वीकृत गरेको छ।








