काठमाडौं । साउदी अरबमा क्षेप्यास्त्र र ड्रोन आक्रमणको जोखिम बढिरहेका बेला रियादस्थित नेपाली राजदूतावासले त्यहाँ कार्यरत नेपालीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

दूतावासले सोमबार सूचना जारी गर्दै सुरक्षा चेतावनी जारी भएका बेला बाहिर ननिस्कन, साउदीका आधिकारिक निकायबाट जारी सूचनामा ध्यान दिन र स्थानीय सुरक्षा निकायका निर्देशन पूर्ण रूपमा पालना गर्न अनुरोध गरेको हो।

ADVERTISEMENT

यमनका हुथी विद्रोही समूह र साउदी अरबबीचको द्वन्द्व चर्किँदै जाँदा साउदीका विमानस्थल, तेल पूर्वाधार तथा अन्य महत्त्वपूर्ण स्थानलाई लक्षित गरी क्षेप्यास्त्र र ड्रोन आक्रमणका घटना भएका छन्। मंगलबार साउदी नेतृत्वको गठबन्धनले पूर्वी र दक्षिणी क्षेत्रमा लक्षित तीन ब्यालिस्टिक क्षेप्यास्त्र र चार ड्रोन रोकेको जनाएको छ।

ADVERTISEMENT

यसअघि अक्टोबर २१ मा साउदी अराम्कोको शैबाह तेल क्षेत्रमा लक्षित ड्रोनलाई हवाई प्रतिरक्षा प्रणालीले रोकेको थियो। त्यसको भग्नावशेष ठेकेदारको गाडीमा खस्दा एक नेपाली र एक फिलिपिनो श्रमिकको मृत्यु भएको थियो भने पाकिस्तानी र भारतीय श्रमिक घाइते भएका थिए।

सोही दिन दमामस्थित किङ फहद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको आक्रमणमा दुई जनाको मृत्यु भएको थियो। आठ जना घाइतेमध्ये एक नेपाली पनि थिए। यी घटनापछि साउदीमा कार्यरत नेपाली श्रमिकको सुरक्षाबारे चिन्ता बढेको छ।

दूतावासले आधिकारिक निकायबाट पुष्टि नभएका समाचार, तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट वा सेयर नगर्न पनि आग्रह गरेको छ। अपुष्ट सामग्री अरूलाई पठाउनसमेत नहुने सूचनामा उल्लेख छ।

हवाई यात्रा गर्ने नेपालीलाई सम्बन्धित वायुसेवा कम्पनी वा आधिकारिक स्रोतबाट उडानको समयतालिका परिवर्तन भए–नभएको यकिन गरेर मात्र विमानस्थल जान दूतावासले अनुरोध गरेको छ।

आवश्यक सहयोगका लागि साउदीमा रहेका नेपालीले रियादस्थित नेपाली राजदूतावास वा जेद्दास्थित नेपाली महावाणिज्यदूतावासमा सम्पर्क गर्न सक्नेछन्।

साउदी अरबमा करिब चार लाख नेपाली कार्यरत रहेको अनुमान छ। पछिल्ला घटनाले त्यहाँ रहेका नेपालीको सुरक्षा र आवागमनमा थप सतर्कता आवश्यक बनाएको छ।